काठमाण्डु – ९० वर्ष पुगेका तिब्बती आध्यात्मिक नेता दलाई लामाको उत्तराधिकारी को हुने भन्ने विषयमा अहिले अन्तर्राष्ट्रिय बहस बनेको छ ।
आइतबार आफ्नो ९० औं जन्मदिनको पूर्वसन्ध्यामा लामाले आफ्नो उत्तराधिकारी आफू जिवितै रहँदा घोषणा गर्ने भनेपछि सबैतिर चासो बढेको हो ।
लामाको भावी पुन:अवतार पहिचान गर्ने प्राधिकार केवल गादेन फोड्राङ् ट्रस्टसँग छ । उक्त ट्रस्टको स्थापना उनैले गरेका हुन् ।
तिब्बतमा चिनियाँ शासन लागु भएपछि उनले निर्वासित जीवन बिताइरहेको उत्तर भारतको धर्मशालामा उत्तराधिकारी चयनको विषयमा बहुप्रतीक्षित घोषणा गरेका हुन् ।
चीनले तिब्बतमा नियन्त्रण जमाउन आफ्नै उम्मेदवार थोपर्ने कोसिस गर्ला भन्ने चिन्ताका माझ उनको सो घोषणा आएको छ ।
उनको घोषणाको प्रतिक्रिया दिँदै बेइजिङ्ले दलाई लामाको पुन:अवतार चीनभित्रै खोजिनु पर्ने र त्यसका निम्ति केन्द्रीय सरकारको अनुमोदन आवश्यक रहेको बताएको छ ।
कम्युनिस्ट चीनले तिब्बतलाई सन् १९५१ मा गाभेको थियो र उसले दलाई लामालाई पृथकतावादी भन्दै आएको छ । दलाई लामालाई तिब्बतका संरक्षक भनिने अवालोकितेश्वर वा चेनरेजिगको अंशका रूपमा मानिन्छ ।
हिन्दू र जैनले जस्तै बौद्धमार्गीहरूले पनि मृत्युपछि सबैको पुनर्जन्म हुन्छ भन्ने विश्वास गर्छन् । तिब्बती परम्परामा लाई लामा जस्तो उच्च आध्यात्मिक स्तर हासिल गरेको व्यक्तिले आफ्नो अर्को अवतारले कहिले र कहाँ जन्म लिन्छ भनेर तय गर्न सक्ने विश्वास छ ।
वर्तमान दलाई लामाको जन्म सन् १९३५ को जुलाई ६ मा उत्तर पूर्वी तिब्बतको एक गरिब किसान परिवारमा भएको थियो ।
उनी २ वर्षको हुँदा नै १३ औँ दलाई लामा अर्थात् थुब्तेत ग्यात्सोले फेरि अवतार लिएका व्यक्तिको रूपमा उनको पहिचान भयो । दलाई लामा बारम्बार अवतार लिएर जन्मने कुरामा तिब्बतीहरू विश्वास गर्छन् । बौद्धधर्म २५०० वर्ष पुरानो हो तर दलाई लामाको संस्था नयाँ हो ।
सबैभन्दा पहिलो दलाई लामाको रूपमा सन् १३९१ मा जन्म भएका गेदुन्द्रुपलाई मान्यता दिइए पनि बौद्ध धर्मगुरुको अवतारको विश्वास त्यसभन्दा पुरानो हो । दलाई लामाको छनोट प्रक्रिया निकै कडा, जटिल र विस्तारित हुन्छ ।
दलाई लामाको छनोट
पुनःअवतार लिएका व्यक्तिको पहिचान गर्न वर्षौँ लाग्न सक्छ । अहिलेका १४औँ दलाई लामाको पहिचान गर्न चार वर्ष लागेको थियो ।
उच्च तहका भिक्षुहरूले पूर्ववर्ती दलाई लामाको मृत्यु भएका समयको हाराहारीमा जन्मिएका बालकको खोजी गर्छन् उनीहरूको खोजी निश्चित कुराहरूमा आधारित हुन्छ ।
जसमध्ये एकजना भिक्षुले त्यस्तो पुनः अवतार लिएका बालकको पहिचानबारे सपना देख्न सक्छन् । पूर्ववर्ती दलाई लामाको चिता जलाउँदा उडेको धुवाँको दिशाले दलाई लामाले पुनर्जन्म लिएको क्षेत्रको सङ्केत गर्छ ।
पुनर्जन्म लिएका बालक रहेको स्थान पहिचान भएपछि ती बालकलाई कैयौँ सामग्रीहरू दिइन्छ । ती बालकले त्यसमध्ये कुन–कुन सामान पूर्ववर्ती दलाई लामाका हुन् भनेर पहिचान गर्न सफल भएको अवस्थामा त्यसलाई बालकको पुनर्जन्मको सन्दर्भमा राम्रो सङ्केतका रूपमा लिइन्छ ।
प्रमुख लामाहरू यी कुराहरूबाट सन्तुष्ट भएपछि ती बालकलाई छनोट गरिन्छ र उनलाई वर्षौँको धार्मिक प्रशिक्षण र धर्मशास्त्रीय अध्ययनमा लगाइन्छ ।
अहिलेसम्म जम्मा दुई जना मात्रै दलाई लामा तिब्बत बाहिरबाट छानिएका छन् । त्यसमध्ये एकजना मङ्गोलिया र अर्को उत्तर पूर्वी भारतबाट हुन् ।
सन् १९५० मा चीनले तिब्बतमाथि आफ्नो दाबी गर्दै हजारौँ सैनिकहरू उक्त क्षेत्रमा पठाएको थियो । सन् १९५९ मा चीनविरोधी विद्रोह विफल भएपछि दलाई लामा त्यहाँबाट भागेर भारत पुगेका थिए र उनले धर्मशालामा निर्वासित सरकार स्थापना गरेका थिए ।
सन् २०११ मा निर्वासित सरकारको प्रमुखको भूमिका त्यागेका दलाई लामालाई अझै पनि बेइजिङको शासनको प्रतिरोधको प्रतीकका रूपमा हेरिन्छ ।
आफ्नो अबको अवतारको जन्म तिब्बत बाहिर हुने भनेर दलाई लामाले लिएका निर्णयलाई चीन नियन्त्रित भू-भागमा रहेको अवस्थाप्रतिको व्यावहारिक प्रतिक्रियाको रूपमा पनि कतिपयले हेरेका छन् ।
दलाई लामा राजनीतिक कारण निर्वासनमा गएको कुरा चीनले अस्वीकार गर्दै आएको छ । उनी धर्मको आवरणमा चीन विरोधी पृथकतावादी गतिविधिमा संलग्न भएको आरोप चीनको छ ।
आगामी दलाई लामा
१४ औँ दलाई लामाले यो ६०० वर्ष पुरानो संस्थालाई संरक्षण गर्नुपर्ने बताउँदै आएका छन् ।
आफ्नो उत्तराधिकारीको चयनमा चिनियाँ हस्तक्षेप रोक्न उनले भविष्यमा कुनै चिनियाँ मनोनयनलाई अस्वीकार गर्न आफ्ना अनुयायीहरूलाई भनेका छन् ।
तर दलाई लामाका अनुयायीहरू अझैपनि तिब्बती बौद्धमार्गको नेतृत्व चिनियाँ शासनबाट स्वतन्त्र राख्नका निम्ति क्रियाशील रहने छन् ।




प्रतिक्रिया