उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूत तइयोङबीच शिष्टाचार भेट

उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूत तइयोङबीच शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङबीच आज मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको उल्लेख गर्दै उनले नेपालले कृषि, उद्योग र जलविद्युत् विकासका लागि कोरियन अनुभव, ज्ञान, सीप तथा प्रविधिबाट लाभान्वित हुन चाहेको उल्लेख गरे ।

मन्त्री भण्डारीले राजदूत तइयोङसँग नेपालमा पछिल्ला दिनमा लगानीमैत्री वातावरण बन्दै गएकाले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकास लगायत उत्पादनमूलक र अन्य क्षेत्रमा खुलेर सहयोग गर्न कोरिया सरकार एवं निजी क्षेत्र समेतलाई आग्रह गरे ।

आगामी अप्रिल २८–२९ मा आयोजना हुने नेपालको लगानी सम्मेलनमा कोरियाली सरकार तथा निजी क्षेत्रको उल्लेख्य सहभागिताका लागि सहजीकरण गरिदिन उनले आग्रह गरे ।

नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयबीच व्यापार तथा लगानी प्रवद्र्धनको कार्यढाँचा स्थापना गर्न समझदारी पत्रको मस्यौदा कोरिया पक्षबाट नेपालले प्राप्त गरी मस्यौदामा अध्ययन तथा सरोकारवालासँग छलफल भइरहेको मन्त्री भण्डारीले जानकारी गराए ।

नेपाल र गणतन्त्र कोरियाबीच रहेको सौहाद्रपूर्ण सम्बन्ध पछिल्ला वर्षहरूमा थप प्रगाढ एवं सुमधुर बन्दै गएकोमा खुशी व्यक्त गर्दै मन्त्री भण्डारीले जनस्तरमा समेत मित्रता, समझदारी र आपसी सहयोगको निरन्तर अभिवृद्धि भइरहेको बताए ।

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सव रहको सन्दर्भ उल्लेख गर्दै उनले २ देशबीचको सम्बन्धको सम्झना स्वरूप ‘एभरेष्टिङ फ्रेन्डसिप’ नेपाल–कोरिया ५०औं वर्षगाँठ अंकित लोगो सार्वजनिक भएकोमा खुसी व्यक्त गरे ।

कोरियाले अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (कोइका) मार्फत विभिन्न क्षेत्रमा गरेको प्राविधिक सहयोग तथा जनशक्ति विकासमा पुर्‍याएको योगदान नेपालका लागि महत्त्वपूर्ण रहेको मन्त्री भण्डारीले उल्लेख गरे । सो अवसरमा उनले अन्तरआवद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा कोरिया सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिबद्ध रहेको बताए ।

हालैका वर्षहरूमा दक्षिण कोरिया नेपाली युवाका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य बनेको र नेपाली युवाका लागि रोजगारीका अवसर तथा कोरियाको आर्थिक विकासमा नेपाली श्रमशक्तिको प्रयोगबाट दुवै देशले लाभ लिने अवस्थाको सिर्जना भएको मन्त्री भण्डारीले उल्लेख गरे ।

पछिल्लो समयमा केही कोरियाली बहुराष्ट्रिय कम्पनीले नेपालमा लगानी विस्तार गरेकोमा खुसी व्यक्त गर्दै उनले लगानीको क्षेत्रमा २ मुलुकबीच अपेक्षित रूपमा सहकार्य विस्तार हुन नसकेको उल्लेख गरे । मन्त्री भण्डारीले आगामी दिनमा नेपालमा कोरियाली लगानी थप विस्तार भई उत्पादन तथा रोजगारी अभिवृद्धि हुँदै जानेमा विश्वास विश्वास व्यक्त गरे ।

गणतन्त्र कोरियाले नेपाल लगायतका अल्पविकसित मुलुकलाई सामान्य ग्राह्यता प्रणालीमार्फत शुन्य भन्सार महशुल सहितको सहज बजार पहुँचको सुविधा प्रदान गर्दै आएको उल्लेख गर्दै उनले सन् २०२६ मा अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन लागेको सन्दर्भमा स्तरोन्नतिपश्चात समेत सुविधाको निरन्तरताका लागि आग्रह गरे ।

नेपाली उद्योगको क्षमता अभिवृद्धि तथा निर्यात प्रवद्र्धन गर्न निजी क्षेत्र लक्षित प्राविधिक सहायता विस्तारका लागिसमेत मन्त्री भण्डारीले राजदूत तइयोङसित अनुरोध गरे ।

सो अवसरमा राजदूत तइयोङले कोरियन लगानीकर्ताले नेपालमा लगानी गर्न धेरै इच्छा देखाएकाले लगानीमैत्री वातावरण निर्माण गर्न मन्त्री भण्डारीसित आग्रह गरे । उनले लगानी गर्न मिल्ने क्षेत्र पहिल्याउन आग्रह गरे ।

तइयोङले मझौला उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्न कारिया सरकार तयार रहेको बताए । उनले गाडीका पार्टपुर्जा ल्याउँदा र गाडीको ‘एसेम्बल’ गर्दा उही मूल्य पर्न जाने भएकाले भन्सार दर सहुलियत हुनुपर्नेमा जोड दिए ।

उनले ‘मेड इन नेपाल’प्रति कोरियाली जनता अति प्रभावित रहेकाले नेपाली मालसमानको निर्यातमा सघाउन कोरिया सकारात्मक रहेको जानकारी गराए । कोरिया सरकारले नेपाललाई दिँदै आएको सहुलियत सन् २०२६ पछि पनि प्राप्त गर्ने वातावरणका लागि कोरियाको अर्थ मन्त्रालयमा आफूले कुरा गर्ने उनले बताए ।

ईपीएस प्रणालीमार्फत कोरिया पुगेका कामदारलाई कोरिया सरकारले दक्ष सीप सिकाएर उनीहरूलाई नेपाल फर्केपछि उत्पादनसित जोड्न सकिने राजदूत तइयोङ बताए ।