काठमाण्डु– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त गरी समृद्ध, विकसित र भाइचारापूर्ण समाज निर्माण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरेको ‘शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम’ मा उनले समाजमा शान्ति, सुव्यवस्था र समृद्धि कायम गर्न सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याए ।
प्रहरी महानिरीक्षक कार्कीले लुम्बिनीबाट सुरु भएको शान्तियात्राको सन्देश मुलुकभर फैलिनुपर्नेमा जोड दिए । उनले लागूऔषध दुव्र्यसन, सडक दुर्घटना, आत्महत्या, बालविवाह तथा लैङ्गिक हिंसाजस्ता सामाजिक विकृति गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यस्ता समस्याको समाधान प्रहरी एक्लैको प्रयासबाट सम्भव नहुने बताए । यसका लागि समाजका सबै पक्षले जिम्मेवारीबोधका साथ सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।
प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीले परम्परागत कार्यशैलीभन्दा पनि प्रविधिमैत्री र जनमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको जानकारी दिए । बुद्धको शान्ति मार्गलाई व्यवहारमा उतार्दै प्रहरीले समाज रूपान्तरणका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिरहेको उनले उल्लेख गरे ।




प्रतिक्रिया