द्वन्द्वका बेला हत्यामा संलग्नलाई छाड्न हुँदैन : सभापति देउवा


भक्तपुर – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिएका छन् ।

आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उनले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले भने, “प्रजातन्त्रका लागि लड्ने योद्धाका रुपमा रहेका जोन्छेंमाथि द्वन्द्वका नाममा उनकै घरमा गएर गोली प्रहार गर्नु ठूलो अपराध हो, यस्ता अपराधीलाई कहिल्यै कसैले पनि छुट दिनुहुँदैन ।” सभापति देउवाले शहीद जोन्छेंले छाडेर गएको काम सफल पार्नु र उनले अवलम्बन गरेको बाटो पछ्याउनु आजको आवश्यकता रहेको बताए ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेपाली काँग्रेसभित्रको गुटउपगुटको अन्त्य गरी एकढिक्का बनाएर लैजाने जिम्मेवारी पार्टी सभापति देउवाको भएको भन्दै यसमा पार्टी उनी अग्रसर हुनुपर्नेमा जोड दिए ।

कानून आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी, प्रतिष्ठानका अध्यक्ष एवं प्रदेश नं ३ का प्रदेश सदस्य रजनी जोन्छेंलगायतले शहीद जोन्छेंको योगदानलाई पार्टी र देशले बिर्सन नहुनेमा जोड दिए । कार्यक्रममा प्रतिष्ठानले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै प्रमाणपत्रहरु प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement