सवारी दुर्घटना कम गर्न दाङका पाँच सडकमा थालियो सर्भे

सवारी दुर्घटना कम गर्न दाङका पाँच सडकमा थालियो सर्भे


दाङ – ट्राफिक प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनीकरण अभियानलाई तीव्रता दिएको छ । मङ्गलबार सडक डिभिजन कार्यालयको प्राविधिक सहयोगमा दाङका विभिन्न चार वटा सडकको सर्भेले गति लिएको हो । दाङमा सवारी दुर्घटना उल्लेख्यरुपमा न्यूनीकरण हुन नसकेको भन्दै सडकको अवस्था सुधारका लागि सर्भे थालिएको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेम रेग्मीले जानकारी दिए ।

“दाङमा अझै पनि सडक दुर्घटना न्यूनीकरण हुन सकेको छैन”, उहाँले भन्नुभयो, “त्यसैले दुर्घटना न्यूनीकरण गर्ने अभियानअन्तर्गत सडकको सर्भे गरेर सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्नेछौँ ।” उनका अनुसार दाङको घोराही–लमही, भालुवाङ–धानखोला, भालुवाङ प्यूठान, भालुवाङ–अमिलिया र अमिलिया–तुलसीपुर सडकखण्डको सर्भे गरिएको हो ।

सर्भेका क्रममा ती सडकखण्डमा ५० वटा ‘कन्भेक्स’ ऐना राख्नुपर्ने सडक डिभिजन कार्यालय दाङका निमित्त प्रमुख तथा इञ्जिनीयर लीलाबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार घोराही–लमहीमा २४, भालुवाङ–धानखोलामा सात, भालुवाङ–प्यूठानमा पाँच, भालुवाङ–अमिलियामा आठ र अमिलिया–तुलसीपुरमा छ वटा ‘कन्भेक्स’ ऐना राख्नुपर्ने हुन्छ ।

त्यस्तै सोही सडकखण्डका विभिन्न स्थानमा ‘क्याट्स् आई’, ट्राफिक सङ्केत, ट्राफिक सचेतना बोर्ड, ब्रेकर, जेब्राक्रसिङ, राख्नका लागि सर्भे गरिएको सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर क्षितिज पोख्रेलले जानकारी दिए । कालाकाटेदेखि नर्तिसम्म थर्मोप्लाष्टिक पेन्ट गर्नुपर्नेसमेत उनले बताए । “हामीले पाँच सडकको सर्भे गरेका छौँ”, उनले भने, “त्यहीअनुसार योजना तयार पारेका छौँ, अब आवश्यक ठाउँमा सुधार गर्नेछौँ ।”

यो सर्भेपश्चात् सडक डिभिजन कार्यालयको लगानीमा सडकमा ती सामग्री राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख रेग्मीले बताए । “हामीले दुर्घटना न्यूनीकरणका लागि आवश्यक ठाउँमा सर्भे गरेका हौँ”, उनले भने, “अबको केही समयमा सडक डिभिजन कार्यालयको लगानीमा काम शुरु हुनेछ ।” यो कार्यले सम्भावित दुर्घटना न्यूनीकरण हुने उनको भनाइ छ ।

अहिलेको सर्भेअनुसार आवश्यक बजेट विनियोजन गरेर निर्माणको कार्र्यलाई अघि बढाउनेसमेत सडक डिभिजन कार्यालयका निमित्त प्रमुख भण्डारीले बताए । “अहिले सर्भे गरिएका सडकमा कति आवश्यक पर्छ, ती सडकमा हामीले बजेट विनियोजन गर्छौं”, उनले भने, “यो काम छिट्टै शुरु हुनेछ ।”