काठमाण्डु – दाङको क्षेत्र नंम्बर २ अहिले सबैको चासोको विषय बनेको छ । नेकपा (एमाले) का हेभीवेट नेता महासचिव शंकर पोखरेल नै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेकाले यो क्षेत्रमा देशभरकै चासो छ ।
महासचिव शंकर पोखरेल २०५१ सालपछि दोश्रोपटक प्रतिनिधिसभामा पुग्ने प्रयासमा छन् । यसअघि २०५६, २०६४ र २०७० को तीन वटा निर्वाचनमा उनी पराजित भए । २०७४ सालमा वाम गठबन्धन भएका कारण दाङ–२ माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई छाडेर प्रदेश सभा रोजेका उनी जित हात पार्दै मुख्यमन्त्री बनेका थिए ।
यस पटक कांग्रेस–माओवादीबीचमा गठबन्धन भएका कारण यो पटक शंकर प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्।शंकरसँग प्रतिस्पर्धाको तयारीमा रहेका माओवादी उपाध्यक्ष पूर्वसभामुख महराले चुनावी मैदानबाट वाकओभर लिएपछि शंकरलाई राहत महसुस भएको राजनीतिक वृत्तमा चर्चा छ ।
दाङको क्षेत्र नंम्बर २ बाट चुनाव लड्न लागेका उनले नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग प्रतिस्पर्धा गर्दै छन् । महरा चुनाव नलड्ने भन्दै पछि हटेपछि माओवादीले सत्ता गठबन्धनमा आफ्नो भागमा परेको यो क्षेत्रबाट पूर्वमन्त्रीसमेत रहेकी नेतृशर्मालाई उम्मेदवार बनाएको हो ।
विगतमा सामान्य प्रशासन मन्त्री भएकी रेखा पहिलोपटक प्रत्यक्षतर्फको निर्वाचन लड्न लागेकी हुन् । उनी संसदीय चुनावका लागि नयाँ छिन् । त्यसैले एमाले उम्मेदवार पोखरेलका लागि प्रतिस्पर्धी फेरिँदा जित निकाल्न सहज हुने देखिन्छ ।
दाङ–२ मा गत स्थानीय तह चुनावको परिणाम विश्लेषण गर्दा एमालेको ३३ हजार ५९३, कांग्रेसको २३ हजार ३०१, माओवादीको १० हजार ४७८, राप्रपाको ३ हजार २६४ र नेकपा एसको २ हजार ९४२ मत छ ।
यो क्षेत्रमा कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका कांग्रेस, माओवादी र नेकपा एसको मत जोड्दा ३६ हजार ७२१ मत हुन्छ। यस्तै, एमाले नेतृत्वको गठबन्धनमा रहेका एमाले र राप्रपाको मत ३६ हजार ८५७ देखिन्छ । यो क्षेत्रमा पनि एमाले नेतृत्वको गठबन्धनको १३६ मत बढी छ ।
एमालेको वैचारिक नेताका रुपमा चिनिने पोखरेल धेरैजसो नीति र सिद्धान्ताका कुरा गर्नेगर्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका विश्वास पात्र र एमाले अध्यक्ष केपी ओलीका उत्तराधिकारीको रूपमा पोखरेललाई कार्यकर्ताहरुले हेर्ने गरेका छन् । अब एमालेको बागडोर पोखरेलको हातमा जान्छ भनेर आँकलन गर्नेहरुपनि धेरै छन् । यता रेखालाई भने त्यस क्षेत्रमा जित निकाल्न कांग्रेसको मत निर्णायक हुने देखिन्छ ।




प्रतिक्रिया