काठमाण्डु- दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रसहित उनको वंशनाश भएको थियो । उक्त हत्यकाण्ड छानविन गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बने पनि विश्वसनीय प्रतिवेदन दिन सकेन । दरबार हत्याकाण्डका बारेमा अहिले पनि अनेकौं अनुमान लगाइन्छ ।
शनिबार एउटा अन्तरक्रियामा प्राध्यापक तथा विश्लेषक डा. सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा ज्ञानेन्द्रमाथि जनतालको ठूलो आशंका गरेको बताए ।
आफूलाई भने सबै घटना दीपेन्द्रले गराएकोमा विश्वास नरहेको उनले बताए । दीपेन्द्रले गोली चलाएर वीरेन्द्र ढलेपछि त्यसपछिको घटनालाई अरुले टेकओभर गरेको उनको अनुमान छ ।
वीरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले पाले हुर्काएकाहरूबाट नै राजसंस्था खतरामा परेको उनको विश्लेषण छ ।
ज्ञानेन्द्र सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात रहेको उनले दाबी गरे ।
तत्कालीन समयमा दरबार नजिक मानिएका डा. सुन्दरमणि दीक्षितले दरबार हत्याकाण्ड दीपेन्द्रले नै गराएको दाबी गरे । ‘दरबार हत्याकाण्ड हुनुको मुख्य कारण दीपेन्द्रको प्रेम सम्बन्ध नै हो’, उनले भने ।
उनले त्यतिबेलाको राजनीतिक नेतृत्व पुरै ‘प्यारालाइज’ भएको हुँदा राम्ररी छानविन हुन नसकेको दाबी गरे ।




प्रतिक्रिया