काठमाण्डु – दार्चुला पावर लिमिटेडको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने निर्णयसम्मका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ ।
कम्पनी अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी हो र हाल दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्यचमेलिया जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
करीब ५६६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीले बताएको छ ।
साधारणसभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन विस्तृत छलफलपछि सर्वसम्मतिले पारित भएको छ । प्रतिवेदनमा आयोजनाको भौतिक प्रगति, आर्थिक व्यवस्थापन, सञ्चालन चुनौती तथा आगामी वर्षका रणनीतिक लक्ष्यहरू समेटिएका थिए ।
आर्थिक वर्षका वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण लगायत सबै वित्तीय विवरणहरू पनि सभाले स्वीकृत गरेको छ । कम्पनीले वित्तीय शिस्त, लागत नियन्त्रण र आयोजना–केन्द्रित खर्च व्यवस्थापनमा देखाएको पारदर्शिताको सभामा प्रशंसा गरिएको थियो ।
कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
दार्चुला पावर लिमिटेडले आफ्ना साधारण सेयरहरूको प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरी आईपीओ निष्काशन प्रक्रियालाई अगाडि बढाइसकेको प्रबन्ध निर्देशक शास्वत चालिसेले सभामा जानकारी दिएका हुन् ।
आईपीओअघि कम्पनीको अधिकृत पुँजी तथा जारी पुँजी वृद्धि गर्ने र त्यहीँअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावहरू पनि सभाले अनुमोदन गरेको छ ।
सभामा बोल्दै कम्पनीका सञ्चालक सञ्जीव न्यौपानेले मध्य चमेलिया जलविद्युत् आयोजनाले हालसम्म उत्कृष्ट प्रगति हासिल गरेको उल्लेख गर्दै कम्पनीले अवलम्बन गरेको रणनीति र व्यवस्थापन क्षमता निकै प्रभावकारी भएको बताए ।
उनका अनुसार निर्माण गति, ठेक्का व्यवस्थापन, सामग्री आपूर्ति, स्थानीय समन्वय र वित्त व्यवस्थापनको संयोजनका कारण आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य कम्पनीले शेयरधनीहरूलाई विश्वस्त गराएको छ ।




प्रतिक्रिया