काठमाण्डु – वैशाख ३० को स्थानीय निर्वाचन नजिकिँदै गर्दा दार्चुला जिल्लामा चुनावी सरगर्मी बढेको छ । सुदूरपश्चिमको दार्चुला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूको गृहजिल्ला हो । त्यसकारण पनि यहाँको चुनाव बडूका लागि प्रतिष्ठा बनेको छ । जिल्लामा दुई नगरपालिकासहित नौ स्थानीय तह छन् ।
०७४ निर्वाचनमा दुवै नगरपालिकासहित पाँच तहमा जितेर कांग्रेस पहिलो शक्ति बनेको थियो । एमालेले तीन र माओवादीले एक पालिका जितेका थिए । यसपटक जिल्लामा कांग्रेस–माओवादीबीच तालमेल भएको छ । त्यसकारण जिल्लामा गठबन्धन भर्सेस एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।
गत निर्वाचनमा महाकाली र शैल्यशिखर नगरपालिकाको मेयर र उपमेयरसहित कांग्रेसले दुँहु, व्यास, मालिकार्जुन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो । अपी–हिमाल, लेकम र नौगाड गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष दुवै पद एमालेले जितेको थियो । मार्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रले जितेको थियो ।
विगतको मतपरिणामअनुसार यसपटक कांग्रेस र माओवादी मिल्दा जिल्लामा एमालेले एउटा पनि पालिका जित्न कठिन हुने देखिन्छ । त्यसमाथि एमाले विभाजन भएको छ । विभाजनको असर पनि जिल्लामा देखिन्छ । विभाजनको फाइदा कांग्रेस र माओवादी उठाउने दाउमा छन् ।
यद्यपि, कांग्रेस र माओवादीबीच तालमेल हुँदा एकीकृत समाजवादी भने छुटेको छ । कतिपय पालिकामा वडाध्यक्ष र सदस्य दिएर एकीकृत समाजवादीलाई पनि मनाउने प्रयासमा कांग्रेस र मओवादी देखिन्छन् । कांग्रेस र माओवादीबीचको पछिल्लो सहमतिअनुसार विगतमा जितेका दुई नगरपालिकासहित पाँच स्थानीय तह कांग्रेस र चार पालिकाको प्रमुखमा माओवादीले उम्मेदवार उठाउने सहमति भएको छ ।
एमालेका नेताहरूले भने गठबन्धनको सामना गर्न तयार रहेको बताएका छन् । पार्टी विभाजन गरेर केही व्यक्ति एकीकृत समाजवादीमा गए पनि माओवादी केन्द्रबाट नेता–कार्यकर्ता ल्याएर त्यसको पूर्ति गरेको हुँदा विगतका स्थानमा आफूहरूले जित्ने दाबी एमाले नेताहरूको छ ।
यसबाहेक एमालेले केपी ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा पारित भएको विषयलाई चुनावी मुद्दा बनाउने भएको छ । सबै पार्टीका दाबी आ–आफ्नै भए पनि चुनावी परिणाम के हुन्छ, त्यसका लागि त पर्खिनै पर्ने हुन्छ । जिल्लामा थपिएका नयाँ मतदाता, दलहरूले उठाउने उम्मेदवारसहित तिनीहरूले अघि सार्ने मुद्दाले चुनावमा जित–हार हुने देखिन्छ ।
दार्चुलामा स्थानीय चुनावका लागि जम्मा ८८ हजार २ सय ८५ मतदाता छन् । त्यसमध्ये ४५ हजार ११ पुरुष र ४३ हजार १ सय ७४ महिला मतदाता रहेका छन् । चुनावका लागि जिल्लामा ६ राष्ट्रियबाहेक राष्ट्रिय मान्यता प्राप्त नगरेका, तर आफ्नै निर्वाचन चिह्न प्राप्त गरेका १० दल दर्ता छन् ।





प्रतिक्रिया