दशैँ तिहारलाई लक्षित गरी काठमाण्डौमा ६० हजार खसीबोका ल्याइँदै


काठमाण्डु- दशैँ तिहारलाई मध्यनजर गर्दै यसवर्ष  काठमाण्डु उपत्यकामा ६० हजार खसीबोका ल्याइने भएको छ ।
काठमाण्डु उपत्यकामा हुने मासुको खपत आकलन गरी पशुसेवा विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका भित्र्याउने तयारी थालेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा उपत्यकामा भित्र्याउने निर्णय गरेको भए पनि च्याङ्ग्रा भने ल्याउन नसकिने जनाएको छ ।

घटस्थापनाको दुई दिन अघि मात्र मूल्य कायम गरी बजार मूल्यभन्दा सहुलियत मूल्य तोकेर त्यसमा समेत प्रतिकिलोग्राम १० रुपैयाँ छुट गरी बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए। असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ। तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ ।

असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement