काठमाण्डुमा रोकिएकालाई गन्तव्य पुर्‍याएपछि मात्र दशैं अग्रिम टिकट बिक्री खुला गरिने

काठमाण्डुमा रोकिएकालाई गन्तव्य पुर्‍याएपछि मात्र दशैं अग्रिम टिकट बिक्री खुला गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चाडपर्वको समयमा यात्रुहरूको यात्रा सहज र सुरक्षित बनाउन सरकारको पहलस्वरूप उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरिएको छ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले विभागीय महानिर्देशकको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो।

समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्षलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

बैठकपछि मन्त्रालयका सचिव केशवकुमार शर्माले समितिले यात्रु गुनासोको तत्काल सम्बोधन गर्ने र यातायात व्यवस्थापनमा सहजता ल्याउने कार्य गर्ने जानकारी दिए।

यसैगरी, बैठकले उपत्यकाबाट बाहिर जाने सार्वजनिक सवारीसाधनको प्राविधिक परीक्षण गर्ने तथा आवश्यक परे यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णयसमेत गरेको छ। यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, दशैंमा यात्रुहरूलाई सहजै गन्तव्यमा पुर्‍याउन सबै पक्षलाई समन्वयका लागि अनुरोध गरिएको छ।

यातायात व्यवस्थापनसँगै, आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक सवारीसाधन र कार्यालयको यथार्थ पहिचान गरी क्षतिपूर्ति प्रक्रिया अघि बढाउने, ट्राफिक प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराउने, र लुटपाटमा परेका हतियार वा सामग्री सवारीसाधनमार्फत ओसारपसार हुन नदिने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।

सिटौलाका अनुसार, दशैं अघिको अग्रिम टिकट बिक्री भने उपत्यकामा अल्झिएका यात्रुहरूलाई गन्तव्यसम्म पुर्याएपछि मात्रै सुरु गरिनेछ।