डडेल्धुरामा किन भएन एमाले-कांग्रेस बीपीबीच चुनावी तालमेल ?

डडेल्धुरामा किन भएन एमाले-कांग्रेस बीपीबीच चुनावी तालमेल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डडेल्धुरामा नेकपा एमाले र नेपाली काँग्रेस बीपीबीचको चुनावी तालमेल नहुने देखिएको छ । नेकपा एमालेले दुइबटै प्रदेशसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएपनि प्रतिनिधिसभातर्फ बीपी कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

तर, प्रतिनिधिसभातर्फ पनि एमालेले उम्मेदवारी दर्ता गराएपछि दुई दलबीच चुनावी तालमेल नहुने स्पष्ट भएको हो ।  स्थानीय तह निर्वाचनमा पनि डडेल्धुरामा एमाले र बीपी कांग्रेसले तालमेल गरेका थिए । तर कुनैपनि स्थानीय तहमा जित हाँसिल गर्न सकेनन्।

योसँगै नेपाली काँग्रेस बीपीबाट शेरबहादुर देउवालाई चुनौती दिन कर्णबहादुर मल्ल उम्मेदवार बन्दा नेकपा एमालेबाट चक्र स्नेही उम्मेदवार बनेका छन्। स्नेही राष्ट्रियसभाका निवर्तमान सांसद पनि हुन् ।

लगातार ६ पटक डडेल्धुराबाट निर्वाचन जितेका देउवालाई हराउन एमालेले उनकै पुराना कार्यकर्ता कर्ण मल्ललाई अघि सार्ने रणनीति लिएको थियो । अघिल्लो पटकको निर्वाचनमा प्रदेशसभा (ख) तर्फ कांग्रेसबाट उम्मेदवार बनेका मल्ल ३५८ मतान्तरले विजयी भएका थिए ।

१३ हजार ४१३ मत प्राप्त गरेर मल्ल विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमाले जिल्ला अध्यक्ष डा. तारा जोशीले १३ हजार ५५ मत प्राप्त गरेका थिए । अहिले जोशी नेकपा एकीकृत समाजवादीमा छन् । उनले पनि प्रदेशसभामा भाग नपरेको भन्दै गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

स्नेहीले बीपीसँग चुनावी तालमेत गर्ने भनिएपनि अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेपछि पार्टीबाट अलग्गै उम्मेदवारी दिएको बताए । त्यहाँ एमालेले प्रतिनिधिसभामा चक्र स्नेही, प्रदेश (क) मा पठानसिंह बोहरा र (ख) मा गजेन्द्र शाहीलाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेश क बाट उम्मेदवार तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहराले पनि केन्द्रले नै स्नेहीका नाममा टिकट पठाएकाले उम्मेदावरी दर्ता गरिएको बताएका छन् ।

‘केन्द्रले नै स्नेहीको नाममा टिकट पठाएको हुनाले उम्मेदवारी मनोनयन गरिएको हो,’ बोहराले भने, ‘तर तालमेल के गर्ने भन्ने विषयमा अझै पनि छलफल चलिरहेको छ, अहिले नै केही पनि भन्न सकिने अवस्था छैन् ।’

चुनावी तालमेल हुँदा काँग्रेस बीपीले पनि प्रदेश क मा एमालेलाई समर्थन गर्नुपर्ने एमाले निकट श्रोतले बतायो । सो क्षेत्रमा काँग्रेस बीपीबाट गणेश प्रसाद जोशी उम्मेदवार छन्।

यी दुई पार्टीबीच स्थानीय तह निर्वाचनका बेलाको तालमेलले अपेक्षित नतिजा नदिँदा तालमेलको विरोध पनि भइरहेको छ, तर तालमेल भए प्रदेशसभामा सिट सुरक्षित हुने र देउवालाई समेत टक्कर दिनसक्ने कतिपयको विश्लेषण छ ।

जिल्लामा गठबन्धनबाट प्रतिनिधिसभामा देउवा उम्मेदवार बन्दा प्रदेशसभा ख मा प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहरा र क मा माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट उम्मेदवार बनेका छन् ।