टक खाती, काठमाण्डु- डडेल्धुराको आलिताल गाउँपालिकास्थित स्याल्चौडि सेलालिङ विद्यालयमा आवश्यक पूर्वाधारको अभाव छ । आलिताल गाउँपालिका वडा नं. ८ सिस्ने गाउँमा रहेको उक्त विद्यालयमा आवश्यक पूर्वाधारको अभाव हुँदा विद्यार्थीहरु मारमा परेका हुन् ।
यस विद्यालयमा हाल २ कक्षासम्म पढाइ हुन्छ र आगामी बर्षदेखि ३ कक्षासम्मको पठनपाठन गर्ने तयारी छ । तर, यो विद्यालयमा आवश्यक पूर्वाधारको अभाव भएको स्थानीय युवा मोहन धामीले बताएका छन् । उनका अनुसार वडा र गाउँपालिकाले बेवास्ता गरेको कारण विद्यार्थीहरुले निकै समस्या खेप्नु परेको छ।
‘यस विद्यालयमा भौतिक संरचना कुनै पनि गतिलो छैन। वडा र गाउँपालिकाले बेवास्ता गरेको कारण आजसम्म पनि विद्यार्थीहरुले निकै दु:ख भोग्नु परेको छ। विद्यालयको आफ्नो भवन छैन। सामुदायिक बनको भवनमा विद्यार्थीहरुलाई पढाइने गरिन्छ । त्यहि पनि कच्ची संरचना छ। भवन अभावका कारण बालबालिकाको पठनपाठन प्रभावित भएको छ । अहिलेसम्म विद्यार्थीको खाजा बाहिरै बनाउने गरिएको छ । यो साल वडाले बजेट दिएको छ । तर, कम रकम हालेकाले बिना पिल्लर कच्ची भान्सा बन्दैछ ।’, मोहन धामीले भने ।
त्यस्तै उक्त विद्यालयमा खानेपानीको अभाव भएको उनले बताए । ‘खानेपानीको लागि एउटा प्लाष्टिकको ट्यांङकी राखेको छ । त्यसमा पनि पानी नियमित आउदैँन । विद्यार्थीले पानी पिउन निकै सास्ती खेप्नु परेको छ । सौचालय पनि गतिलो छैन । यहाँका कुनै पनि संरचना बालमैत्री र भरपर्दा छैनन्।’, उनले भने ।
त्यस्तै धामीले आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की र वडा अध्यक्ष धन बहादुर देउबाले विद्यालयमा भएका समस्यालाई वेवास्था गरेको गुनासो गरेका छन् । यदि अध्यक्ष पार्कीले यस विद्यालयतर्फ पनि नजर लगाएको भए आज विद्यार्थीले सास्ती खेप्नु पर्ने अवस्था नआउने उनको भनाइ छ ।
‘ जनप्रतिनिधिले गाउँ ठाउँका समस्या र जनताको आवश्यकता बुज्नु पर्छ। तर, हाम्रा गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्ष धन बहादुर देउबा सुर न तालका छन् । यी कलिला बालबालिकाले भाग्नुपरेको समस्या किन अध्यक्षको नजरमा पर्दैन ?, उनले त हामीले राखेका मागलाइ बेवास्था गर्छन ।’, उनले भने । हाल २ कक्षासम्म पठनपाठन हुने स्याल्चौडि सेलालिङ विद्यालयमा ६० जना विद्यार्थी पढ्दै आएका छन्।




प्रतिक्रिया