बैतडी – विषालु सर्पले डस्दा बैतडीमा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेकी छन् ।
मंगलवार राति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र बुधबार बिहान १ बजेतिर मुत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए । सर्पको टोकाइबाट गम्भीर घाइते भएकी घटालको झारफुक गर्दागर्दै मृत्यु भएको हो ।
‘सर्पले टोकेलगत्तै अस्पताल लैजानुको साटो वैद्यलाई बोलाएर झारफुक गर्नको पछि लाग्नुभएछ,’ स्वास्थ्य चौकी इन्चार्ज सार्कीले भने, ‘हामीलाई भर्खर मात्रै थाहा भयो, सर्पले टोकेपछि झारफुकको साटो अस्पताल लगेको भए ती महिलाले अकालमै ज्यान गुमाउनु पर्दैन्थ्यो होला ।’
प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।




प्रतिक्रिया