काठमाण्डु – निजगढस्थित पूर्वपश्चिम राजमार्गमा यात्रु बसको ठक्करबाट १ जना मोटरसाइकल मिस्त्रीको आज शनिवार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा अटोमा सवार थप ३ जना घाइते भएका छन् ।
नारायणघाटबाट धरानतर्फ जादै गरेको प्र १–०२–००१ ख ९७९३ नम्बरको यात्रुबाहक बसले अर्का सोही दिशाबाट आउँदै गरेको अर्को बसलाई उछिन्ने क्रममा निजगढ बजारको एक ग्यारेजमा मर्मतपछि परीक्षणको गुडाएको ना६३प ८४४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाराको कोल्हबी नगरपालिका–३ जुगुवाका २० वर्षीय मोटरसाइकल मिस्त्री दिनेश चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ ।
यात्रु प्रतिक्षालय नजिक आइपुगेपछि अगाडि गुडिरहेको अर्को बसलाई उछिन्ने क्रममा बसले पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकललाई बिहान ९ः४५ बजे ठक्कर दिएको थियो । बसको ठक्करपछि मोटरसाइकल नजिकै गुडिरेहेको ना३स ९२३७ नम्बरको ई–रिक्सामा ठोक्किएको र ई–रिक्साले विपरीत दिशाबाट आउँदै गरेको प्र २–०३–००१ ह १०६६ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
ई–रिक्साको ठक्करबाट अटोचालक निजगढ नगरपालिका–१० लाल बस्ने २४ वर्षीय सुकराम बम्जन, २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा–१६ बस्ने २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् ।




प्रतिक्रिया