१० वर्षे जनयुद्धमा मारिएका सबैलाई सहिद घोषणा गर्न नेकपा सांसदको माग

१० वर्षे जनयुद्धमा मारिएका सबैलाई सहिद घोषणा गर्न नेकपा सांसदको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाका सांसद महेशकुमार महराले माओवादीले चलाएको १० वर्षे जनयुद्धका क्रममा मारिएका सबैलाई सहिद घोषणा गर्न माग गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सरकारले घाइतेहरुलाई विशेष प्याकेज दिनुपर्ने बताएका छन् ।

‘जनयुद्ध काम नलाग्ने भएको थिएन । जनयुद्धबारे अहिले भइरहेका नकारात्मक टिप्पणी एकदमै गलत छन् । यदि जनयुद्ध नभएको भए साथीहरु रसातलमा भासिइसकेका हुने थिए’, उनले भने, ‘पूर्वाग्राही भएर बोल्नुको औचित्य छैन । जनयुद्धका सबै मृतकलाई सहिद घोषणा गरियोस् ।’

सांसद महराले जनयुदद्धका घाइतेहरुको उपचारमा पनि सरकारले बेवास्ता गरेको गुनासो गरे । ‘सरकारले जनयुद्धका घाइतेहरुको उपचारमा बेवास्ता गरेको छ । गणतन्त्र ल्याउन बलिदानी गरेकालाई सहिद घोषणा गर्न नहुने किन ? सरकारले यसको जवाफ दिनुपर्छ ।’

उनले प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए देशले काँचुली नफेरिने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्नुपर्ने माग राखेका छन् । ‘कमरेड प्रचण्डको नेतृत्वमा यदी जनयुद्ध नभएको भए हामी आज संघीय लोकतान्त्रिक गणतन्त्रमा हुने थिएनौं । सरकारले कोख रित्तिएका आमाहरु, सिन्दुर पुछिएका चेलिहरुका थोरै भए पनि पीडामा मलम लगाउने काम गरोस् ।’

उनले जनयुद्धका क्रममा बेपत्ता भएकाहरुको खोजी गर्न दुई तिहाईको सरकारलाई किन अफ्ठेरो परेको भन्दै प्रश्न गरेका छन् ।

सांसद महराले देशमा संघीयता आइसके पनि सिंहदरबारले अझै सुदूरपश्चिमलाई हेलाको दृष्टिले हेरेको गुनासो गरेका छन् ।

‘हिजो पञ्चायतमा, निरंकुश शासनका बेला त सुदूरपश्चिमलाई सिंहदरबारले हेरेन, हेला ग‍र्यो’, उनले भने, ‘अहिले संघीयता आएपछि पनि कर्णालीपारि पनि सुदूरपश्चिम छ भन्ने सिंहदरबारले सुनेन । यो कुरा सिंहदरबारले सुनोस्, बुझोस् ।’