काठमाण्डु- श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीलाई २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। नेपालगञ्जबाट श्रीमती आएकी छन् भनेर विक शनिबार राति कार्यालयबाट बिदा मागेर गएका थिए। त्यस राति विक परिवारसहित घोराहीको सहिद गेटस्थित सुपरलज होटलमा बसेका थिए। आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए। विकको घर रुन्टीगढी गाउँपालिका–९ रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो। उनी लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए। उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए। विकले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको बताइएको छ।




प्रतिक्रिया