ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु


काठमाण्डु – ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा १ विद्यार्थीको मृत्यु भएको छ ।

दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत ८ विद्यार्थी घाइते भएका छन् ।

खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करीब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले बताए ।

दुर्घटनामा परी याङ्वरक–४ का ९ वर्षीय मानस तामाङको घटनास्थलमै मृत्यु भएको छ । उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत थिए ।

दुर्घटनामा विद्यालयमा अध्ययनरत ८ विद्यार्थी घाइते भएका छन् । घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ । दुर्घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement