काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा आईतबार २ जनाको मृत्यु भएको छ ।
तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित सडकमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग२५प ४१३ नम्बरको स्कुटर अनियन्त्रित भई आईतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक गोरखाको गोरखा नगरपालिका–१३ अगुवा देउराली बस्ने २२ वर्षीय आसिक बाबुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गे चोकस्थित सडकमा ढुङ्गेबाट रसुवातर्फ जाँदै गरेको ना४ख ४८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री किस्पाङ गाउँपालिका–५ शान्तिबजार बस्ने ५४ वर्षीया अम्बिका भट्टको आईतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्रीन सिटी अस्पताल काठमाण्डुमा थप उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया