छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ जहदीस्थित सडकमा पचेहराबाट श्रीनगरतर्फ जाँदै गरेको लु६प १०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका–९ श्रीनगर बस्ने १७ वर्षीय लाले यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलार चोकमा ग१त ७६३७ नम्बरको ट्रयाक्टर बुधबार बिहान दुर्घटना हुँदा चालक कास्कीको रूपा गाउँपालिका–३ पोल्याङ बस्ने बाग्लुङको काठेखोला गाउँपालिका–७ घर भएका १९ वर्षीय आयुसमान गुरूङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको दमौली अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको छ ।

सल्यानको त्रिवेणी गाउँपालिका–३ कार्यबासस्थित सडकमा लुहामबाट काभ्रातर्फ जाँदै गरेको रा१त ४५४५ नम्बरको ट्रयाक्टरबाट खसेर त्रिवेणी गाउँपालिका–३ बस्ने १६ वर्षीय कबिर रोकाको बुधबार दिउँसो मृत्यु भएको छ ।

ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।