हिन्दूस्तान लिभरका पूर्वअध्यक्ष दत्तको ८९ वर्षको उमेरमा निधन

हिन्दूस्तान लिभरका पूर्वअध्यक्ष दत्तको ८९ वर्षको उमेरमा निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हिन्दूस्तान लिभर लिमिटेड (हाल हिन्दूस्तान युनिलिभर लिमिटेड) का पूर्वअध्यक्ष सुसिम मुकुल दत्तको ८९ वर्षको उमेरमा निधन भएको छ ।

दक्षिण एसियाली कर्पोरेट जगतका प्रभावशाली व्यक्तित्वका रूपमा चिनिएका दत्तलाई नेपालमा युनिलिभर नेपाल लिमिटेडको स्थापना गरेको ऐतिहासिक योगदानका लागि विशेष रूपमा स्मरण गरिन्छ ।

हिन्दूस्तान लिभरमा उनको ४ दशकभन्दा लामो कार्यकाल थियो । अध्यक्षको भूमिकामा रहँदै उनले कम्पनीलाई रणनीतिक रूपमा विस्तार र तीव्र प्रगतिको मार्गमा डोर्‍याएका थिए । उनका थुप्रै उपलब्धिहरूमध्ये नेपालमा विस्तार गर्ने उनको दृष्टिकोण क्षेत्रीय औद्योगिक विकासको एक ऐतिहासिक मोडको रूपमा स्मरणीय रहेको जनाइएको छ ।

दत्तको अगुवाइमा सन् १९९२ मा युनिलिभर नेपाल लिमिटेडको स्थापना भएको थियो । उनले स्वयम्  हेटौंडास्थित कारखानाको स्थापना प्रक्रिया प्रारम्भ गरेर नेपालमा विभिन्न सरोकारवालासँग प्रत्यक्ष संलग्न भए ।

मंगलबार त्यहीँ हेटौंडा कारखाना लाखौं नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेको छ । सन् १९९६ मा सेवानिवृत्त भएपछि पनि उनले दीगोपन, उत्तरदायी व्यापार र नैतिक नेतृत्वजस्ता मूल्यहरूमा निरन्तर जोड दिएका थिए, जसका सिद्धान्तहरू आज पनि यूनिलिभर नेपालसहित विश्वभरिका सञ्चालनलाई मार्गदर्शन गरिरहेका छन् ।

‘दत्तको सपना थियो, नेपाल लिभरलाई देशकै अग्रणी एफएमसीजी कम्पनी बनाउने,’ युनिलिभरका वरिष्ठ कर्मचारी शोभन रोय भन्छन्, ‘उहाँ मृदुभाषी, नम्र र सरल स्वभावका व्यक्ति हुनुहुन्थ्यो तर साथसाथै स्पष्ट दृष्टिकोण र प्रेरणादायी नेतृत्व क्षमता भएका असल मार्गदर्शक हुनुहुन्थ्यो ।’

आज युनिलिभरले एउटा दिग्गज नेतृत्व गुमाएको उनले बताए । तर दत्तको परिकल्पना, सिर्जना र योगदान उनीबाट स्थापित संस्थाहरूमा अनि सम्पर्कमा आएका व्यक्तिहरूको जीवनमा अमर रहने जनाइएको छ । उनको सोचले नेपालमा रोजगारी सिर्जना मात्र गरेन, औद्योगिक उत्कृष्टताको एक उच्च मापदण्ड पनि स्थापित गरेको छ ।