हामी किन मर्छौँ ?

हामी किन मर्छौँ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–समुद्र र नदीमा पाइने एउटा अनौठो जीव हो– हाइड्रा ।हाइड्राले आफ्नो शरीरका पुराना कोषलाई आफैं नवीकरण गर्छ र कहिल्यै न बुढो हुन्छ न त मर्छ नै ।

अर्थात् हाइड्राले एक खाले जैविक अमरत्व प्राप्त गरेको छ । अतः हाइड्रा नै पृथ्वीमा भएका जीवमध्ये सबैभन्दा धेरै बाँच्ने जीव पनि हो ।

प्राचीन ग्रीक मिथकमा नयाँ टाउको उमार्न सक्ने सर्पको नाम पैँचो लिएर यसको नामकरण गरिएको हो । सिंहपर्णी (ड्यान्डेलिअन) फूलको बीजजस्तो सानो र लामो शरीर र एकातर्फ कैयौँ टेन्टकल भएको हाइड्रामा हेर्नुपर्ने अरू धेरै कुरा छैनन् । तर पनि जीव वैज्ञानिकहरूका लागि यो भने एउटा विशिष्ट प्रकारको जीव हो । यसको विशेषता भनेकै यो पुनः जीवित हुनु हो ।

यदि तपाइँले एउटा हाइड्रालाई धेरै वटा टुक्रामा काटिदिनुभयो भने प्रत्येक टुक्रा एउटा अलग्गै जीवको रूपमा फेरि हुर्कन्छ ।

यही विशेषताका कारण प्रकृतिमा अमरत्वको प्रमाणको खोजी गरिरहेका वैज्ञानिकहरूमाझ उक्त जीवलाई लिएर कौतूहल पाइन्छ । यी जीवहरू प्राकृतिक कारणले किन मर्दैनन् ? र के मृत्यु निश्चित छ ?

२०औँ शताब्दीको मध्यतिर उमेर ढल्किनुलाई प्रजनन र कोष व्यवस्थापनबीचको लेनदेनका रूपमा व्याख्या गरिन्थ्यो ।

प्रारम्भिक अवस्थामा हाम्रो शरीरले आफूलाई हुर्काउन र स्वस्थ राख्न आफ्ना कोष प्रयोग गर्छ । बाल्यकालदेखि किशोरावस्थासम्म सकेसम्म बलियो र स्वस्थ रहन जोड रहन्छ । परिपक्व यौन क्षमता विकास भएपछि प्राथमिकता प्रजननमा हुन्छ ।

किनभने अधिकांश जीवहरूको स्रोत सीमित हुन्छ र सन्तान उत्पादनलाई प्राथमिकता दिने कुरा आफू स्वस्थ रहने कुराभन्दा माथि पनि रहन सक्छ ।

उदाहरणका लागि सामन माछालाई हेर्नुहोस् । अण्डा पार्न तटको माथिल्लो भागतिर पौडिने उक्त माछा त्यसलगत्तै मर्छ ।

अण्डा पार्ने ठाउँसम्म ऊ सहजै पुग्छ र त्यहाँ हुँदा उसले उक्त अवसरलाई यथोचित प्रयोग गर्छ । तर सामन माछा तलको किनारातर्फ फर्किने र समुद्रमा फेरि अर्को वर्ष जीवित रहने तथा सन्तान जन्माउन त्यही किसिमको यात्रा सफलतापूर्वक गर्ने सम्भावना ज्यादै न्यून हुन्छ ।

प्राकृतिक छनोटले पनि तिनलाई यस्तो अवसर कहिल्यै दिँदैन । तर जे भए पनि उनीहरूले आफ्नो अनुवंश एकचोटि सफलतापूर्वक हस्तान्तरण गर्छन् ।

तर हामी किन मर्छौ भन्ने अहिलेको हाम्रो बुझाइ अझ विशिष्ट छ ।

परिपक्व यौन क्षमता विकास गरेपछि कुनै पनि जीवको प्राकृतिक छनोटको शक्ति कमजोर हुन्छ र बुढ्यौलीको प्रक्रिया आरम्भ हुन्छ । त्यसले अन्ततः मृत्युसम्म पुर्‍याउँछ ।

तर त्यो परोपकारी जस्तो देखिने कोण भावी पुस्ताका लागि बाटो खोलिदिन भने नभएको युनिभर्सिटी अफ इस्ट एङ्लिया बेलायतका क्रमविकास विज्ञान तथा बायोजेरन्टोलजीका प्राध्यापक एलेक्सेइ माक्लाकोभ बताउँछन् ।

प्राकृतिक छनोट र मृत्यु

यौनका लागि परिपक्व हुने उमेरअघि कुनै पनि वंशानुगत उत्परिवर्तन जसले जीवको प्रजननको सम्भावना कमजोर बनाउँछ वा सो जीवको प्रजननअघि नै ज्यान लिन सक्छ, त्यसलाई बलियो रूपमा शरीरले अस्वीकार गरिदिने यूनिभर्सिटी अफ अक्सफर्डकी क्रमविकास जीववैज्ञानिक गाब्रिएला कोउन्टोरिड्स बताउँछिन् ।

कुनै पनि जीव यौनिक रूपमा परिपक्व भइसकेपछि उसले आफ्नो वंशाणु अर्को पुस्तामा हस्तान्तरण गर्न सक्छ । त्यसपछि प्राकृतिक छनोटको शक्ति कमजोर हुन्छ ।

फेरि अण्डा पारिरहेको सामन माछातिरै फर्कौ । वयस्क हुँदासम्म उसले सबै राम्रो गरिरहेको हुन्छ र प्रजनन पनि अघि बढाएको हुन्छ । उसका सन्ततिले पनि त्यसरी नै सन्तान जन्माउने प्रबल सम्भावना हुन्छ ।

तर यदि अण्डा पारिसकेपछि भएको वंशानुगत उत्परिवर्तनका कारण सामन माछाको आयु बढ्यो र ऊ अर्को वर्ष पनि बाँच्यो भने (जसको सम्भावना एकदमै कम छ) उसका सन्ततिलाई आफ्ना माउका अरू सन्तानभन्दा बढी कुनै विशेष लाभ हुँदैन ।

तर बुढ्यौली र मृत्यु दुई तरिकाले हुन्छन् । एउटा कमजोर छनोट प्रणालीका कारण हुने नकारात्मक उत्परिवर्तन र अर्को प्रजननका लागि लाभदायी हुन सक्ने उत्परिवर्तन जुन दीर्घजीवनका लागि नकारात्मक बन्न सक्छ ।

सेल सिनसन्स अर्थात् कोषहरू जीर्ण हुने प्रक्रियामा कोषको विभाजन रोकिन्छ । यो प्रारम्भिक जीवनमा हुने लाभ र उत्तरार्धमा हुने हानिको उदाहरण हुन सक्छ । कोष विभाजन बन्द हुने प्रणालीले हामीलाई क्यान्सरबाट जोगाउँछ ।

किनभने यसले डीएनएमा क्षति पुगेको कोषलाई विस्तार हुनबाट रोक्छ । तर पछि त्यस्ता कोषहरू तन्तुमा जम्मा हुन्छन् र तिनले विभिन्न समस्या र उमेरसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छन् ।
अधिकांश प्रजातिका जीवमा बुढ्यौली देखा पर्ने भए पनि त्यसका केही अपवाद छन् ।

कतिपय बिरुवामा एकदमै नगण्य सिनसन्स देखिन्छ र केही प्रजातिहरू हजारौ वर्षसम्म बाँचिरहेको पाइन्छ ।

हाइड्रासँग नजिकको सम्बन्ध रहेको अमरत्व पाएको जेलीफिशले पनि आफ्नो दीर्घकालीन अस्तित्वका लागि चतुर उपाय अपनाएको छ ।

कुनै चोट लागेको, रोग लागेको वा तनाव भएको अवस्थामा वयस्क उमेरबाट पोलिप अर्थात् आफ्नो प्रारम्भिक चरणमा जेलीफिश फर्किन सक्छ ।