काठमाण्डु – ललितपुरस्थित यूएन पार्कनजिक बिहीबार अपराह्न करीब ४ बजे भएको सवारीसाधन दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै ठाउँमा ५ वटा सवारीसाधन ठोक्किएर दुर्घटना भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बा५१प ९५६९ नम्बरको स्कुटरका चालक राजिव सिन्हाको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । मृतक सिन्हा रौतहट जिल्लाको गौर घर भएका ४५ वर्षीय पुरुष हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा स्कुटरसहित ४ वटा अन्य सवारीसाधन ठोक्किएका हुन् । कुपण्डोलबाट आउँदै गरेको बा प्र ०१–०२९ च ३८९६ नम्बरको निजी भ्यान, विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०१–०२२ च ००६१ नम्बरको कार, बा२ज ४७६० नम्बरको कार, बा प्र ०१–०२९ नम्बरको अर्को भ्यान गरी ५ सवारीसाधनहरू ठोक्किन पुगेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया