रामेछाप – रामेछापको मन्थली नगरपालिका–६ लिलौतिको भीरबाट तामाकोशी नदीमा खसेको यात्रुबाहक बस दुर्घटनामा हराइरहेका थप १ जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल तामाङको शव मंगलबार सुनकोशी नदी किनारमा भेटिएको हो ।
दुर्घटनास्थलबाट करीब २५० मिटर दक्षिणमा फेला परेको शवको सनाखत परिवारले गरेका छन् । प्रहरीले शवलाई पोष्टमार्टमका लागि मन्थली अस्पताल ल्याएको छ ।
गत माघ २७ गते सडकबाट भीरमा खसेको नेपाल अरनिको यातायात सेवा प्रालिको बस काठमाण्डुबाट ओखलढुंगाको पोल्थली जाँदै गरेको थियो ।
दुर्घटनाको दिन १२ जनाको शव घटनास्थलमै फेला परेको थियो भने ८ जना घाइते भएका थिए । हराइरहेका ३ मध्ये सोमबार मात्र मन्थली–२ का ९ वर्षीय क्रिचन तामाङको शव सिन्धुलीको तल्लो खुर्कोट किनारमा भेटिएको थियो ।
दुर्घटनामा डुबेर मृत्यु भएका २ जनाको शव फेला परेपछि मृतकको संख्या १४ पुगेको छ । बसमा यात्रा गर्ने ८ वर्षीय बालक रोनिस तामाङको अवस्था अझै अज्ञात रहेको छ । प्रहरी खोजी कार्य जारी राखिरहेको छ ।




प्रतिक्रिया