बारामा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु

बारामा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु


निजगढ – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा सोमबार साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार २ युवक र १ पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । मृतकमध्ये २ जनाको मात्रै पहिचान खुलेको छ ।

प्रहरी नायब उपरीक्षक घलेका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीतपुरसिमरा–१ पथलैया घर भई हाल काठमाण्डु बसोबास गर्ने २० वर्षीय सभ्य अधिकारी र मोेटरसाइकल चालक काठमाण्डुको टोखा नगरपालिकाका डिजेन जोशी रहेका छन् ।

पैदल यात्रुको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए ।

दुर्घटनामा गम्भीर भएका तीनै जनालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायव उपरीक्षक घलेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये जोशी र अधिकारीको शव बयोधा अस्पतालमा छ भने पैदल यात्रुको शव नारायणी अस्पतालमा राखिएको छ ।