काठमाण्डु – ललितपुर र भक्तपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ललितपुरका २९ वर्षीय पुरुष र भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको हो ।
ललितपुरका युवाको १३ गते राती मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेशनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेको जानकारी दिए ।
वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वास्थ्यकर्मीले सङ्क्रमितलाई अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राख्ने जनाएको थियो । नेपाली सेनाको टोलीले शव आज व्यवस्थापन गर्ने नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए । यसअघि पाटन अस्पतालमा शनिबार बिहान मध्यपुरथिमि नगरपालिका नगदेशकी ६२ वर्षीया एक सङ्क्रमितको मृत्यु भएको थियो । भक्तपुरमा हालसम्म चार महिला र तीन पुरुष गरी सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।




प्रतिक्रिया