अर्घाखांची – अर्घाखांचीमा मरेको भनि दाहसंस्कार गरेको भोलिपल्ट मृतक भनिएका व्यक्ति घर आइपुगेका छन् । जिल्लाको सितगंगा नगरपालिका–२ मन्द्रे काठेपिपल निवासी ३४ वर्षीय कर्ण बहादुर चुंदाराको मृत्यु भएको भनि परिवारले दाहसंस्कार गरको भोलिपल्ट चुंदारा घरमा आएपछि परिवार तथा आफन्त नै आश्चर्यमा परेका छन् ।
चुंदारा गत साउन ८ गते एकाएक घरबाट हराएका थिए । छोरा हराएपछि उनका बुवा धनबहादुरले टोल छिमेक र प्रहरीमा छोरो हराएको भन्दै खोजी शुरु गरेका थिए । खोजी भइरहेकै बेला गत साउन १५ गते स्थानीयले बाणगंगा नदीमा ढुंगामा अड्किएको अवस्थामा एउटा पुरुषको शव फेला पारेका थिए । खोलाको पानीमा डुबेको र ढुंगामा च्यापिएको अवस्थामा फेला परेको शव सडेको कारण पहिचान हुन गाह्रो थियो । तर कर्णबहादुरका बुवा धनबहादुरले शवको हात खुट्टाका औंला, नङ र उचाई मिलेको भन्दै उक्त शव आफ्नै माईलो छोरा कर्णबहादुरका भएको दाबी गरेपछि प्रहरीले सोहि अनुसार मुचुल्का उठाएको थियो ।
मुचुल्का पछि पोष्टमार्टम समेत गरी परिवार र आफन्तले कर्ण बहादुरको दाहसंस्कार गरे । तर लगत्तै खबर आयो कर्णबहादुर जिउँदै छन् । दाहसंस्कार गरिएको भोलिपल्ट कर्णबहादुरले दाजु र आमालाई भेटेपछि उनी जिउँदै भएको पुष्टि भएको थियो । यसरी मृत्यु भयो भनि दाहसंस्कार समेत गरिएको व्यक्ति जीवित रहेको खबर आएपछि उनलाई भारतबाट घरमा झिकाएर जीवित रहेको पक्का गरिएको छिमेकी रामप्रसाद भट्टराईले बताए ।




प्रतिक्रिया