धनुषा – धनुषामा मर्निङवाक गएका युवाको टिपरले किचेर हत्या गरिएको छ । मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई शुक्रबार बिहान साढे चार बजेतिर मर्निङ वाकमा गएका बेला टिपरले किचेको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले किचेर हत्या गरेको देखिएको बताए । घटनालगत्तै प्रहरी पुगेर ना ७ ख ६४१३ को टिपरलाई नियन्त्रणमा लिएको छ । महतो भारतमा इन्जिनियरिङ पढ्दै थिए ।
उनको हत्यापछि स्थानीयले मिथिला नगरपालिकाको श्रीपुरस्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
घटना लगतै इलाका प्रहरी कार्यालय ढल्केवरको टोली पुगेर शव नियन्त्रणमा लिई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ । ट्रिपर इलाका प्रहरी कार्यालय ढल्केबरले आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक राममेश्वर कार्कीले जानकारी दिए ।
घटनापश्चात् ट्रिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले बताए । गाउँलाई नै जोखिममा पर्ने गरी औरही–बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन्को दिलिपको नेतृत्वमा गाउँलेले विरोध गर्दै आएको थिए ।
रिसिबी साँध्न क्रसर सञ्चालकले योजनाबद्ध रुपमा दिलीपको हत्या गरेको स्थानीय उमेश कुशवाहाको आरोप छ । घटनाको विरोधमा गाउँलेले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् ।




प्रतिक्रिया