काठमाण्डु – डाक्टर कहाँ भेटिन्छन् ? सायद हामी सबैको उत्तर उस्तै उस्तै हुन्छ । महँगा क्लिनिक, अस्पताल, नर्सिङ होममा । कतिपय सरकारी डाक्टर सरकारीमा हाजिर गरेर निजी क्लिनिक तिर धाएको सुन्दा कुनै नौलो लाग्दैन । तर, यही हाम्रै समाजमा एक जना यस्ता डाक्टर पनि छन् जो बिरामी खोज्दै गाउँ गाउँ पुग्छन् ।
अस्पतालमा फुर्सद निस्कनासाथ उनी निःशुल्क स्वास्थ्य शिविर लिएर गाउँ गाउँमा पुगिरहेका छन् । उनी हुन् काभ्रेको कोसीपारिमा जन्मिएका ३४ वर्षीय डा. देवेन्द्र गौतम । काभ्रेकै पाँचखालमा रहेको गोल्डेन फियुचर ईङ्गलिस स्कुलबाट एसएलसी उत्तीर्ण गरेका गौतमले प्लस टु भने काठमाण्डुको हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजबाट पुरा गरेका हुन् ।
प्लस टु सकेर उनी एम बीबीएस गर्न बङ्गलादेश पुगेका थिए । बङ्गलादेशबाट एमबिबिएस सकेर काठमाण्डु फर्किए लगत्तै उनले वीर अस्पतालमा स्वयंसेवक को रूपमा काम गरेका हुन् । उनमा सानै देखि स्वयंसेवी भावना रहेकाले उनी आफूले सकेको सहयोग गर्न रूचाउँछन् । वीर अस्पतालमा १ वर्ष स्वयंसेवक को रूपमा काम गरेपछि उनी न्युरो अस्पताल बासवारिमा काम गर्न पुगे ।
बाँसबारीमा करिब ३ महिना काम गरेका थिए । उनले काम गर्दै जाँदा सरकारी कोटाबाट एमडी गर्ने अवसर पाए । उनले वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी गरेका हुन् ।
सरकारी कोटाबाट पढेका डाक्टरले २ वर्ष सरकारी सेवामा काम नगरी हुन्न । उनले त्यो दुई वर्षे करार जागिर गरिरहेका छन् । कोरोनाको सङ्क्रमण उच्च रहेका बेला उनलाई मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर डण्डा पठाएको थियो । उनले त्यहाँ रहँदा कोरोनाका बिरामीहरूलाई सेवा दिएका थिए । ओपिडी शाखामा उनले काम गरेका थिए ।
सात महिना मध्यबिन्दु अस्पताल काम गरेसँगै अहिले उनी दोलखाको चरिकोट अस्पतालमा सेवा दिइरहेका छन् । उनी दोलखा पुगेसँगै अस्पतालमा मात्र होइन समुदायमा पनि स्वास्थ्यको चेतना बढेको छ । अस्पतालमा दिनुपर्ने समयबाहेकको समय शिविरको योजना र व्यवस्थापनमा दिने गर्छन् डा. गौतम । अहिले अस्पतालमा अप्रेसन र ल्याब समेत राम्रो भएको छ । ’पहिले ठुला ठाउँमा रेफर हुने बिमारीले अहिले जिल्लामै सेवा पाएका छन्,’ उनले भने, ’मलाई खुसी लागेको छ।’ अस्पतालको व्यवस्थामा सरकारले अलि ध्यान दिनुपर्ने उनी बत्ताउँछन् ।
त्यो बाहेक जो अस्पताल पुग्न सक्दैनन् उनीहरूलाई पनि स्वास्थ्य सेवाको पहुँचमा ल्याउनुपर्ने उनको भनाइ छ । उनी भन्छन् ‘स्वास्थ्य जीवन बाच्न पाउन मानिसको नैसर्गिक अधिकार यो । यो अधिकारबाट कोहीलाई पनि वञ्चित गर्नु हुँदैन , हाम्रो समाजमा कतिपय मानिसले रोगलाई सामान्य नै लिने गर्छन् जटिल समस्या नआउँदासम्म स्वास्थ्य परीक्षण गर्दैनन् भने अर्को वर्ग यस्तो छ उनीहरूलाई स्वास्थ्यको चेतना नै हुँदैन । त्यस्ता व्यत्तिःहरूकालागि मैले काम गर्नुपर्छ भनेर निःशुल्क शिविर आयोजन गर्ने गरेको हो । घर आँगनमै शिविर पुगेपछि त कसो परीक्षण नहोला र ?।’
उनले शिविरमा आफू बाहेक अन्य डा साथीहरूलाई समेत लिएर जाने गरेका छन् । एउटै शिविरमा धेरै किसिमको परीक्षण गर्नु पाउँदा नागरिकहरू खुसी भएको उनको अनुभव छ । यति मात्र होइन उनले शिविरमा हुने स्वास्थ्य परीक्षणमा औषधि आवश्यक पर्नेहरूलाई निःशुल्क रूपमा औषधि समेत वितरण गर्ने गरेका छन् । औषधि व्यवसायीको परिवारबाट भएर पनि उनलाई सहज भएको उनले बताए । परिवारको सहयोग लेनै समाजसेवामा लाग्ने प्रेरणा मिलेको उनको भनाइ छ । अशक्तहरूलाई सहयोग गर्दा नै खुसी मिल्ने उनी बताउन् ।
सेवा भनेको मानव हितका निमित्त हो । ‘सेवामा स्वार्थ हुनुहुँदैन, सेवामा आनन्द र आत्मसन्तुष्टि मिल्छ ’ । ‘सायद काठमाडौँ बसेको भए यी सबै कुरा मिल्ने थिएन । बाल्यकाल देखिकै सोच हो की म गाउँमा बसेर सेवा गरूँ । यसरी सेवा गर्न पाउँदा निकै खुसी छु ।’ उनले भने ।
प्राय डाक्टरहरूको रोजाइ काठमान्डु नै हुने गर्छ , आर्थिक सँगसँगै आधुनिक उपकरणमा काम गर्न काठमान्डुलाई नै सहज मान्छन् तर डा. गौतम भने गाउँ गाउँमा पुगेर बिरामीको सेवामा लाग्ने बत्ताउँछन् । अझै धेरै ठाउँमा निःशुल्क स्वास्थ्य शिविर लैजाने उनको योजना छ । हाल दोलखा जिल्लाका गाउँमा सञ्चालन गरिएको शिविर भोलिका दिनमा देशका दुदराजसम्म कसरी लैजान सकिन्छ भन्ने उनमा चिन्ता पनि छ ।




प्रतिक्रिया