काठमाण्डु – नेपाली सेनाको समरी जनरल सैनिक अदालतले सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको सजाय सुनाएको छ ।
सैनिक अदालतले नेपाली सेनाको महेन्द्र दल गणमा कार्यरत ढकाललाई बिहीबार २५ वर्ष कैद सजाय हुने फैसला गरेको हो । उनलाई जंगी अड्डास्थित आन्तरिक थुनामा राखिएको छ ।
सैन्य प्रवक्ता (सहायक रथी) सन्तोष वल्लभ पौड्यालले साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान ढकाललाई जन्मकैद गर्ने फैसला गरिएको जानकारी दिए ।
महेन्द्र दल गणमा कार्यरत ‘साथी’ हुद्दा भरत गुरुङको हत्यामा संलग्न अभियोगमा ढकाललाई प्रहरीले साउन ७ मा चितवनको टाँडीबाट पक्राउ गरेको थियो ।
प्रहरीको अनुसन्धानबाट कालिबहादुर गणबाट चोरेको सट मेशिन गन ‘एसएमजी’ प्रयोग गरेर उनले गुरुङको हत्या गरेको खुलेको थियो ।
कर्तव्य ज्यान, बैङ्किङ कसुर र हात हतियार खरखजाना मुद्दामा संलग्न ढकाललाई सैन्य अदालतले भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने फैसला गरेको छ ।
हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङबारे भने फैसला आउन बाँकी छ ।




प्रतिक्रिया