टक खाती, काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामै सत्तारुढ दल कांग्रेस कमजोर देखिएको छ । स्थानीय तहको निर्वाचनमा चासोका साथ हेरिएको देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेस दुई धारमा विभाजित भएको हो ।
डडेल्धुरामा दुई नगरपालिकासहित सातवटा स्थानीय तह छन् । २०७४ सालको चुनावमा जिल्लाका धेरै स्थानीय तहमा कांग्रेसले जित हासिल गरेको थियो । जिल्लाका सातमध्ये कांग्रेसले चारवटा पालिका जितेको थियो भने एमालेले दुई र माओवादीले एउटामा जित निकालेका थिए ।
२०७९ को स्थानीय तहको चुनावमा पनि कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । एमालेको तुलनामा डडेल्धुरामा नेपाली कांग्रेस पहिलेभन्दा कमजोर बनेको चर्चा छ । डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावमा होमिएको छ । नेपाली कांग्रेसले चुनावमा तालमेल गर्ने भनेपनि डडेल्लधुरामा भने गठबन्धन दलहरूबीच सहमति जुट्न सकेन । यसको फाइदा भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भएको छ ।
नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डडेल्धुराको प्रदेश खबाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्ल पक्षले नेपाली कांग्रेस विपीबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेस भित्रको कर्ण मल्ल पक्ष बिभाजित भएपछी कांग्रेस सभापति देउवा लाई आफ्नै गृह जिल्लामा ठुलो झट्का लागेको हो ।
स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कांग्रेस (विपी) ले डडेल्धुरामा छुट्टा–छुट्टै उमेदवारी दर्ता गरेको छ । डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस (विपी) र नेकपा एमालेबीच तालमेल भएको छ । नेकपा एमाले र नेपाली कांग्रेस विपी गठबन्धनबाट डडेल्धुराको सदरमुकाम रहेको अमरगढी नगरपालिकाको प्रमुखमा कांग्रेस बिपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शमर्म पंगेनीले जानकारी दिएका छन् ।
त्यसैगरी अजयमेरू गाउँपालिकामा एमालेबाट अध्यक्षमा पदम पाल, उपाध्यक्षमा नेपाली कांग्रेस बिपीबाट रामचन्द्र ऐरले मनोनयन दर्ता गराएका छन् । त्यस्तै नवदुर्गा गाउँपालिकामा नेपाली कांग्रेस बिपीबाट अध्यक्ष गोकुल शाही र उपाध्यक्षमा नेकपा एमालेबाट वीरबहादुर बिष्टले दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुरामा नेपाली कांग्रेस बिपीबाट अध्यक्षमा सुरेन्द्र माली र नेकपा एमालेबाट उपाध्यक्षमा इन्द्र महराले मनोनयन दर्ता गराएका छन् । त्यस्तै भागेश्वर गाउँपालिकामा नेकपा एमालेबाट रामबहादुर शाही र उपाध्यक्ष नेपाली कांग्रेस बिपीबाट नरबहादुर ठकुराठीले उम्मेदवारी दिएका छन् ।
पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफ्नै गहृ जिल्लामा समेत पार्टीभित्र असन्तुष्ट बनेको पक्षलाई सहमतिमा ल्याउन नसकेको गुनासो छ । असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन देउवा चुकेपछि उनी आफ्नै गृहजिल्लामा यसपालि भने स्थानीय तहको चुनावमा कमजोर बन्न पुगेका हुन् । मल्ल डडेल्धुरा कांग्रेसभित्र शक्तिशाली नेताका रूपमा चिनिन्छन् ।
यसभन्दा अघिल्लो चुनावमा पनि डडेल्धुरामा नेपाली कांग्रेसभित्र विवाद नै थियो तर चुनावमा भने नेताहरू एक ढिक्का भएर गएका थिए । त्यसकारण पनि नेपाली कांग्रेसलाई २०७४ सालको चुनावमा धेरै ठाउँमा जित निकाल्न सहज भएको थियो । तर यो चुनावमा पार्टीबाट असन्तुष्ट पक्ष बाहिरिएपछि नेपाली कांग्रेस कमजोर बन्नुका साथै मतमरिमाण पनि नराम्रो आउने आँकलन गरिएको छ ।
देउवाको दमनको कारणले चुनावमा अलग्गिएको मल्लको दावी
पार्टीको १४ औँ महाधिवेशन बाट नै रुष्ट बनेको संस्थापन इतर पक्ष अथार्त कर्ण मल्ल पक्षले आफ्ना माग सम्बोधन नगरेका कारण चुनावमा नेपाली कांग्रेसबाट अलग्गिएको बताएको छ ।
यसभन्दा अघि पनि देउवाले आफरुहरुमाथि दमन गरेको कर्ण मल्ल पक्षहरुले आरोप लगाउँदै आइरहेका थिए । चुनावमा अलग्गिए पनि आफूहरु नेपाली कांग्रेसमै रहेको कर्ण मल्लले काठमाण्डुपाटीलाई बताए ।
उनले स्थानीय तहको चुनावमा नेपाली कांग्रेस (विपी) बाट निर्वाचनमा भाग लिएको बताए । पार्टीको १४ औँ महाधिवेशनबाट नै रुष्ट बनेका मल्ले देउवाले आफहरुमाथि सधै दमन गरेको दावी गरे । तपाईँहरु नेपाली कांग्रेसबाट अलग्गिएको हो ? भन्ने काठमाण्डुपाटीको प्रश्नमा मल्लले भने, ‘ त्यस्तो होइन् । हामीहरु नेपाली कांग्रेसमै छौँ । पार्टीबाट अलग हुने कुरा नै हुँदैन् । ’
त्यसो भए अलग पार्टीबाट नेकपा एमालेसँग चुनावी तालमेल गर्नुलाई कसरि हेर्ने ? प्रश्नमा उनले भने, ‘ नेपाली कांग्रेस (विपी) बाट हामीले निर्वाचन लडेका हौँ तर हामीहरु नेपाली कांग्रेसमै छौँ । देउवाले गरेको दमनका कारण हामीहरु शिर्ष नेताहरुको सल्लाहमा स्थानीय तहको चुनावमा अलग्गिएका हौँ । चुनावमा अलग्गिदैँमा पार्टी नै त्याग गरेको भन्न मिल्दैन् ।’




प्रतिक्रिया