काठमाण्डु – विवादास्पद व्यापारी दीपक भट्टलाई पक्राउ गर्ने तयारी भएको छ। राजनीतिक संरक्षणका कारण विभिन्न अनुसन्धानबाट जोगिँदै आएका भट्टमाथि कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल भएको स्रोतले जनाएको छ।
भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दर्ता गर्ने तयारी गरेको छ। अभियोगपत्र तयार भइसकेको र पक्राउ पूर्जी जारी गर्ने प्रक्रिया अघि बढाइएको बताइएको छ।
मंगलबार भट्टको राहदानीसमेत रोक्का गरिएको छ। पछिल्लो समय उनले अमेरिका, थाइल्याण्ड, अष्ट्रेलिया र दुबईमा सम्पत्ति खरिद गरेको आशंकामा अनुसन्धान भइरहेको छ। साथै, बीमा, सेयर कारोबार, ठूला नियुक्ति, लाइसेन्स किनबेच र प्रहरी ठेक्कापट्टामार्फत अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप पनि उनीमाथि लागेको छ।
यसै विषयमा अर्थमन्त्री स्वर्णिम वाग्ले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख गजेन्द्र ठाकुरबीच बुधबार छलफल भएको थियो। छलफलमा भट्टलाई पक्राउ गरी मुद्दा अगाडि बढाउने विषयमा छलफल भएको छ ।
भट्ट विगत एक दशकदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको संरक्षणमा ‘छायाँ सरकार’ सञ्चालन गर्दै आएको आरोप लाग्दै आएको छ। उनलाई कारबाही गर्न जेन्जी आन्दोलनकारीहरूले पटक–पटक माग उठाए पनि राजनीतिक दबाबका कारण उनी हालसम्म कानुनी कारबाहीबाट जोगिँदै आएका थिए।




प्रतिक्रिया