काठमाडौं – अघिल्लो सरकारले गरेका जनपक्षीय निर्णय बदर गरिदा आज मिर्गौला बिरामीहरू आन्दोलित भएको जनाउँदै पूर्व मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले विरामीलाई दिन थालिएको भत्ता कटौती गरेकोमा आपत्ती प्रकट गरेका छन् ।
‘स्वयं प्रधानमन्त्री मिर्गौला बिरामी हुन् र डायलसिसमा हुनुहुन्छ,’ प्रेस विज्ञप्ति निकाल्दै बोहराले भनेका छन्, ‘म स्वास्थ्य मन्त्री रहँदा सरकारका तर्फबाट मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीको उपचार गराई राखेका बिरामीलाई जीविकोपार्जन र सामान्य औषधिको अभाव नहोस् भनेर मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरिएको थियो र त्यसको सुरुवात पनि भएको थियो । तर, त्यसपछि बनेको वर्तमान सरकारले सो सुविधामा कटौती गर्यो । अहिले उक्त रोगका बिरामीले भत्ताबाट बन्चित भएपछि बिरामीले सडक आन्दोलन गर्नुपरेको छ ।’
उनले यस्तो अवस्था आउनुमा नेपाल सरकार जिम्मेवार रहेको जनाउँदै स्वास्थ्य सुविधा कटौती गर्ने सरकारको निर्णयप्रति खेद प्रकट गरेका छन् । उनले यस विषयलाई सरकारले गम्भीर रुपमा लिइ बिरामीलाई उक्त सुविधा तत्काल उपलब्ध गराउन माग गरेका छन् ।
‘बिरामीहरूको लागि वितरण गरिने भत्ताको यथोचित व्यवस्था समेत गरिसकेको अवस्थामा सो निर्णयलाई त्यसपछि बनेको बर्तमान सरकारबाट बदर गरियो । सो निर्णय किन बदर गरियो ? आफूभन्दा अगाडिको सरकारले गरेको लोकप्रिय निर्णय भएकोले ? के त्यो निर्णयले त्यो अशक्त बिरामीहरूलाई फाइदा हुन्थेन ? के त्यो निर्णय बिरामीको हितमा थिएन ?’ उनले प्रश्न गरेका छन् ।





प्रतिक्रिया