श्रममन्त्री शाह १४ दिनमै बर्खास्त

श्रममन्त्री शाह १४ दिनमै बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बरखास्त गरेका छन् । परवारको सदस्यलाई जागिरमा राखेको भन्दै विवादमा तानिएपछि प्रधानमन्त्रीले बिहीबार रास्वपाको सिफारिसमा साहलाई मन्त्री पदबाट हटाएका हुन् ।

महोत्तरी–२ बाट निर्वाचित साहले मन्त्री बनेको १४ दिनमै पदबाट हटेका छन् । पछिल्लाेसमय पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः फर्काएपछि विवादमा परेका थिए। उनी विगतमा एजुकेसन कन्सल्टेन्सीको विवादमा परेका  व्यक्ति थिए ।

रास्वपाको ‘राइट टु रिकल’ नीति अनुसार उनलाई पदबाट हटाइएको हो । २०८० मंसिरमा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले श्रेष्ठलाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए। तर, बैठकमा लगातार अनुपस्थित भएपछि बोर्डले उनलाई निलम्बनका लागि पत्र पठाएको थियो।

पछि साह मन्त्री नियुक्त भएपछि श्रेष्ठ पुनः बोर्डमा फर्किएको विषयले आलोचना बढेको थियो । रास्वपाको अनुशासन समितिले मन्त्री साहमाथि छानबिन गरेको थियो भने मन्त्री साहकै योजनामा श्रेष्ठलाई बोर्डमा पुनः पठाइएको प्रमाण जुटिसकेको दाबी गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।

याे पनि श्रममन्त्रीलाई फिर्ता बोलाउन बालेनलाई रविको पत्र, स्वास्थ्यमन्त्रीलाई सचेत गराउन सिफारिस

यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो।

मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए ।