‘छ माया छपक्कै २’ फ्लपपछि दीपकराज गिरीले भने : हारको जिम्मेवारी म लिन्छु

‘छ माया छपक्कै २’ फ्लपपछि दीपकराज गिरीले भने : हारको जिम्मेवारी म लिन्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दशैंमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ ले अपेक्षित व्यावसायिक सफलता हासिल गर्न नसकेपछि निर्माता तथा मुख्य कलाकार दीपकराज गिरीले असफलताको जिम्मेवारी आफूले लिने बताएका छन्।

६ वर्षअघि प्रदर्शनमा आएको चर्चित चलचित्र ‘छ माया छपक्कै’ को सिक्वेलका रूपमा निर्माण भएको यो चलचित्र गत असोज ३१ गते फूलपातीदेखि प्रदर्शनमा आएको थियो।

दीपकराज गिरी र सनिशा भट्टराईलगायत कलाकारको अभिनय रहेको चलचित्रले राजनीतिक आडम्बर, पारिवारिक तथा सामाजिक यथार्थ र प्रेमको कथा प्रस्तुत गरेको थियो।

तर, चलचित्रले अपेक्षाअनुसार दर्शक तान्न सकेन। बक्स अफिसमा कमजोर प्रदर्शन गरेपछि गिरीले सामाजिक सञ्जालमार्फत आफ्नो असफलतालाई स्वीकार गर्दै लामो आत्मसमीक्षा सार्वजनिक गरेका छन्।

उनले चलचित्रको व्यापारिक नतिजा अन्तिम रूपमा आइनसकेको भए पनि कमजोर प्रदर्शनलाई स्वीकार गर्न ढिलाइ गर्न नहुने बताएका छन्। चुनावको मतगणनाको उदाहरण दिँदै उनले मतान्तर धेरै भइसकेपछि एउटा मतपेटिका गन्न बाँकी छ भनेर आशावादी भइरहनुको अर्थ नरहेको उल्लेख गरेका छन्।

‘जित्दा ढोल पिटेर नाच्ने, हार्दा चाहिँ गल्लीभित्र लुसुक्क छिरेर चुपचाप बस्नुको अर्थ छैन। छाती खोलेरै हारियो भन्न सक्नुपर्छ। हारको विश्लेषण पनि गर्नुपर्छ र अगाडि पनि बढ्नुपर्छ,’ उनले लेखेका छन्।

गिरीले आफ्नो चलचित्र असफल भएको विषयलाई हल्का व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै अन्य चलचित्रकर्मीको व्यापारसँग पनि तुलना गरेका छन्। यसपटक दशैंमा आफूहरूको चलचित्र मात्रै असफल नभएको देख्दा केही चलचित्रकर्मीलाई राहत मिलेको हुन सक्ने उनको व्यङ्ग्य छ।

दशैंमा प्रदर्शनमा आएको चलचित्रले अपेक्षित व्यापार गर्न नसकेपछि निर्माताको आत्मसमीक्षा, नेपाली फिल्म क्षेत्रलाई पनि आफ्नो प्रवृत्तिबारे सोच्न आग्रह

‘हामी मात्रै होइन, यी मोराहरू पनि फ्लप भए भनेर यो दशैंमा धेरै चलचित्रकर्मी साथीभाइको अनुहारमा खुसीको लहर दौडिएको हुनुपर्छ,’ उनले लेखेका छन्।

उनले अर्को हात नभएको व्यक्तिले आफूजस्तै अर्को व्यक्तिलाई देख्दा एक्लो नभएको महसुस गरेजस्तै आफूहरूको असफलताले अरूलाई पनि केही राहत मिलेको हुन सक्ने भन्दै व्यङ्ग्य गरेका छन्।

असफलताको दोष ?

चलचित्र असफल भएपछि यसको दोष कसलाई दिने भन्ने विषयमा पनि गिरीले रमाइलो शैलीमा टिप्पणी गरेका छन्। निर्माता, निर्देशक, लेखक, छायाकार र कलरिस्टसम्मले एकअर्कालाई दोष दिने प्रवृत्तिमाथि उनले व्यङ्ग्य गरेका छन्।

उनका अनुसार चलचित्र हिट हुँदा त्यसको कारण खोजिँदैन। भोजभतेर हुन्छ, पार्टी गरिन्छ र आफूले उत्कृष्ट चलचित्र बनाएको अनुभूति गरिन्छ। तर, चलचित्र फ्लप भएपछि भने सुटिङ सुरु हुनुअघिका सानातिना घटनासमेत सम्झिन थालिन्छन्।

उनले निर्माता र निर्देशकबीच दोषारोपण सुरु हुने, निर्देशकले लेखकलाई देखाउने र लेखकले निर्देशकलाई जिम्मेवार ठहर्‍याउने अवस्थालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन्। अन्ततः सबै जिम्मेवारी आफूमा आइपुग्ने भएकाले सुरुमै असफलताको जिम्मेवारी स्वीकार गर्नु उचित हुने उनको भनाइ छ।

‘त्यसरी घुमेर आइपुग्नुअघि नै सबैको जिम्मेवारी आफैँले स्वीकार गर्‍यो, कुरै खत्तम होइन त ?’, उनले लेखेका छन्।

चलचित्र फ्लप हुनुमा बहिष्कारको प्रभाव रहेको तर्क गर्नेहरूलाई पनि उनले व्यङ्ग्यात्मक जवाफ दिएका छन्। चलचित्र बहिष्कारकै कारण असफल भएको हो भने त्यसलाई नराम्रो चलचित्र भएकाले असफल भएको भन्नुभन्दा चित्त बुझाउने आधार बनाउन सकिने उनको टिप्पणी छ।

चित्त बुझाउने प्रयास

गिरीले यसपटक दशैंमा प्रदर्शनमा आएका अन्य चलचित्रको व्यापारिक अवस्थाबारे पनि उल्लेख गरेका छन्। तर आफ्ना अघिल्ला शृङ्खलाले क्रमशः २१ करोड, १९ करोड, १२ करोड र ९ करोड रुपैयाँ आम्दानी गरेका उनले बताए। तर यस पटक रिलिज ती चार चलचित्रले यसपटक दशैंमा क्रमशः १० करोड, दुई करोडभन्दा केही बढी, छ करोडभन्दा केही बढी र तीन करोड रुपैयाँको व्यापार गरेका छन्।

अन्य चलचित्रको व्यापार पनि अघिल्लो शृङ्खलाको तुलनामा घटेको देख्दा आफ्नो चलचित्रको असफलताको पीडा केही कम भएको महसुस हुने उनले बताएका छन्। यद्यपि, अरू चलचित्रको व्यापारसँग तुलना गर्दैमा आफ्नो चलचित्र असफल भएको तथ्य नबदलिने उनको स्वीकारोक्ति छ।

‘जति कुरा घुमाए पनि आफू असफल भएको कुरा त मेटिनेवाला छैन,’ उनले लेखेका छन्।

आत्मसमीक्षा गर्न आग्रह

गिरीले आफ्नो चलचित्रको असफलतालाई व्यक्तिगत कमजोरीमा मात्र सीमित नराखी समग्र नेपाली चलचित्र क्षेत्रले आत्मसमीक्षा गर्नुपर्ने विषयका रूपमा प्रस्तुत गरेका छन्।

उनका अनुसार आफूले व्यक्तिगत रूपमा भएका कमजोरी महसुस गरिसकेका छन्। तर, चलचित्र उद्योगका अन्य व्यक्तिहरूले पनि आत्मसमीक्षा नगर्ने हो भने नेपाली चलचित्रको भविष्य कमजोर हुँदै जानेछ।

आफू मात्रै अगाडि देखिने वा आफ्नो चलचित्र जसरी पनि सफल हुनुपर्ने सोचले समग्र उद्योगलाई नै नोक्सान पुर्‍याइरहेको त छैन भन्ने प्रश्न उनले उठाएका छन्।

‘मैले जसरी पनि जित्नुपर्छ भनेर मैले खेलेको खेलको असरले बिस्तारै आफैँलाई हार्ने वातावरण त बनिरहेको छैन ? आफू अलि अगाडि देखिनका लागि गरिएका हाम्रा गतिविधि कतै आफ्नै खुट्टामा बन्चरो त साबित भइरहेका छैनन् ? हामी सबैले यो विषयमा सोच्नुपर्ला,’ उनले लेखेका छन्।

उनले नेपाली चलचित्र क्षेत्रको दीर्घकालीन हितका लागि व्यक्तिगत प्रतिस्पर्धाभन्दा सामूहिक जिम्मेवारी र आत्मसमीक्षा आवश्यक रहेको संकेत गरेका छन्।

अन्त्यमा गिरीले दशैंमा प्रदर्शन भएर सफल भएका चलचित्रका निर्माता तथा कलाकारलाई बधाई दिएका छन् भने असफल भएका चलचित्रकर्मीलाई सान्त्वना दिएका छन्।

आफ्नो चलचित्र निर्माणदेखि प्रदर्शनसम्म साथ दिने सम्पूर्ण टिमलाई धन्यवाद दिँदै उनले चलचित्र हेर्ने करिब एक लाख दर्शकप्रति आभार व्यक्त गरेका छन्।

दर्शकले दिएका सुझावलाई आत्मसात् गर्दै अर्को वर्ष पुनः चलचित्र लिएर हलमा आउने प्रतिबद्धतासमेत उनले जनाएका छन्।