काठमाण्डु- नेपाल वायुसेवा निगमका पाइलट दीपु ज्वारचनले ‘एयरबस ३२०’ को परीक्षक पाइलट (डेजिगनेटेड चेक पाइलट) को लाइसेन्स पाएका छन्।
मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्वारचनलाई परीक्षक पाइलटको लाइसेन्स दिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाका अनुसार ज्वारचन परीक्षक पाइलटको लाइसेन्स पाउने पहिलो नेपाली पाइलट बनेका छन्। यसअघि नेपालमा एयरबसका लागि विदेशी पाइलटले नै पाइलटहरूको परीक्षा लिनुपर्ने अवस्था थियो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ज्वारचनले एयरबस ३२० जहाज उडानका लागि पाइलट तथा को-पाइलटको तालिम तथा परीक्षा लिन पाउने छन्। ज्वारचन हाल निगममा सिनियर प्रशिक्षक पाइलट हुन्। ज्वारचनले सन् २००७ देखि नेपाल एयरलाइन्सका जहाज उडाइरहेका छन्।
२०१५ बाट एयरबस ३२० उडान गरिरहेका ज्वारचनले २०२२ मा प्रशिक्षक पाइलटको लाइसेन्स पाएका थिए। यसैबीचमा उनी अपरेशन विभागको प्रमुखसमेत भइसकेका छन् भने छोटो समयका लागि उनी निगमको निमित्त महाप्रबन्धकसमेत भएका थिए।
प्रतिक्रिया