राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको छ : रक्षामन्त्री खड्का

राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको छ : रक्षामन्त्री खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताएका छन्।

सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा आज तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिक लगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पारे।

‘राष्ट्रिय सुरक्षाको आयाम सैनिक शक्तिलाई मात्रै आधार बनाई बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिप्रेक्षमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्ष लगायतलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ। यी विषयवस्तुलाई पनि तालिममार्फत तपाईंहरूले ग्रहण गर्नुहुनेमा विश्वास छ’, उनले भने।

विश्व परिवेशमा देखा परेका विभिन्न घटनाक्रमका कारण अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा आइरहेको परिवर्तन, सूचना एवं प्रविधिको तीव्र गतिमा भइरहेको विकासक्रमका साथै राष्ट्रिय रूपमा राजनीतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको उनको भनाइ थियो।

उनले प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्यमान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने प्रयासरत रहेको उल्लेख गरे। सो अवसरमा उपप्रधानमन्त्री खड्काले सैनिक कमाण्ड तथा स्टाफ कलेजलाई स्रोत र साधनको व्यवस्था गरी सर्वोत्कृष्ट शिक्षालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै कलेजलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने सन्दर्भमा रक्षा मन्त्रालय सदैव सकरात्मक रहेको उल्लेख गरे।

उनले उच्चस्तरीय तालिम सञ्चालनका लागि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा नआउँदासम्म यहाँ सञ्चालन गरिने तालिमले नै राष्ट्रिय सुरक्षामा टेवा पुग्नेमा विश्वास व्यक्त गरे।

‘राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति तथा कूटनीति, राजनीतिक अर्थशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति सेनासम्बन्धी विषय, राष्ट्रिय सुरक्षामा विभिन्न सरकारी तथा गैरसरकारी निकायबीचको समन्वयसम्बन्धी विषय, परम्परागत र आधुनिक, सैद्धान्तिक एवं व्यावहारिक शिक्षा दिँदै आइरहेको यस कलेजलाई भविष्यमा उत्कृष्ट शिक्षालय बनाउन रक्षा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहनेछ’, उनले भने।