रक्षामन्त्री पोखरेलले भने– सुरक्षा चुनौति राष्ट्रिय सिमाभित्र मात्र सिमित छैन्


काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाका चुनौतिहरु राष्ट्रिय सिमाभित्र मात्र सिमित नरहेको बताएका छन् । नेपाली सेनाले पहिलो पटक आयोजना गरेको राष्ट्रिय सुरक्षा र प्रतिआतंकवादसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले आतंकवाद मानवता र अन्तर्रा्ष्ट्रिय सुरक्षामा जटिल चुनौति रहेको दावी गरे ।

मन्त्री पोखरेलले नेपालको भौगोलिक अवस्थिति र आतंकवादको जटिलताको कारणले समेत यसलाई नियन्त्रण गर्न राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रयासको आवश्यकता रहेको औंल्याए ।

विषय विशेषज्ञ श्रीलंकाका प्राध्यापक डाक्टर रोहन गुणरत्नले आतंकवाद कुनै एक देशको समस्या नभई सामुहिक समस्या भएको र यसको निराकरणको लागि आन्तरिक रुपमा राज्यका विभिन्न मन्त्रालय तथा सम्पूर्ण सुरक्षा निकायबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । उनले अन्तर्रा्ष्ट्रिय क्षेत्रमा मित्रराष्ट्रहरुबीच समेत आपसी समन्वय, सहयोग र सहकार्य अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा ईजरायलका राजदूत वेन्नी ओमरले आफ्नो देशमा आतंकवादले खडा गरेको चुनौति र त्यसको निराकरणको लागि चालिएका कदमहरुबारे जानकारी गराएका थिए ।

कार्यक्रममा विभिन्न देशका राजदूतहरु, नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीबृन्दलगायत अन्य उच्च अधिकारीहरुकोे समेत सहभागिता रहेको थियो ।
नेपाली सेनाले अन्तरक्रिया कार्यक्रमले आतंकवाद र प्रतिआतंकवाद विषयमा थप छलफल भई संभावित आतंकवादबाट हुन सक्ने क्षति न्युनिकरण गर्न थप समन्वय र सहकार्यमा मद्दत मिल्न जाने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement