काठमाण्डु – गत वर्ष निर्वाचन प्रचारप्रसारका बेला डोनल्ड ट्रम्पले अमेरिकी सहरहरूमा उनले ‘लेफ्ट विङ्’हरूको अराजकता नसहने र राष्ट्रपतिको पूर्ण शक्ति त्यस्ता गतिविधिविरुद्ध लगाउने वाचा गरेका थिए ।
अमेरिकाको आप्रवासनसम्बन्धी संघीय निकाय इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई वा आइस)का कारबाहीविरुद्ध शनिवार राति क्यालिफोर्नियामा भएको विरोध प्रदर्शनले ट्रम्पलाई ठ्याक्कै त्यही वाचा पूरा गर्ने मौका दिएको देखिन्छ ।
लस एन्जलस सहरको प्रहरीले ती प्रदर्शनहरू शान्तिपूर्ण भनिरहेको छ र स्थानीय प्रशासनले हिंसात्मक भएका केही झडप आफूहरूले नियन्त्रण गर्न सक्ने बताइरहेका छन् ।
तर ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी अधिकारीहरूलाई निसाना गरिएको र घाइते बनाइएको भनेको छ अनि उसले स्थानीय निकायले ती प्रदर्शन रोक्न विलम्ब गरेको बताएको छ ।
अहिले लस एन्जलसमा राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा गार्ड तैनाथीको विरोधमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा प्रदर्शनकारीहरूले सवारीसाधनमा आगजनी गरेका छन् भने सुरक्षाकर्मीले अश्रुग्याँस र रबरको गोली चलाएका छन् ।
आप्रवासन नीतिको विरोधमा भएको प्रदर्शनमा करिब ३०० सुरक्षा गार्ड तैनाथ गरिएको छ, जसले गर्दा स्थानीयमा आक्रोश बढेको छ ।
उनीहरूले स्वचालित गाडीहरूमा आगो लगाउँदा सुरक्षाकर्मीहरूले अश्रुग्याँस र रबरको गोली प्रहार गरेका थिए । भिड नियन्त्रण गर्ने विस्फोटक प्रयोग गरेपछि साँझतिर धेरैजसो प्रदर्शनकारी तितरबितर भए ।
लस एञ्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले प्रहरी ‘प्रदर्शनकारीको संख्याले थिचिएको स्वीकारेका छन् । बिहानैदेखि सुरक्षागार्डहरू लामबद्ध भई राइफल र दङ्गा नियन्त्रण ढालसहित उभिएका थिए । प्रदर्शनकारीहरू भने ‘घर फर्क’ भन्ने नारा लगाइरहेका थिए ।

प्रतिक्रिया