काठमाण्डु- राष्ट्रिय डेङ्गी सचेतना अभियान बिहीबारदेखि सुरु भएको छ ।
सरकारले साउन महिनाभर राष्ट्रिय डेङ्गी सचेतना अभियान सञ्चालन गर्नेछ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना बढाउने लक्ष्यसहित सरकारले साउन महिनाभर अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।
स्वास्थ्य सेवा विभागको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तीनै तहका सरकार सबै मन्त्रालय, सांसदको सहभागिता यो अभियान सञ्चालन हुनेछ ।
जसमा हरेक शुक्रवार सफा शुक्रवारमार्फत सबै सार्वजनिक निकाय र संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजनन स्थलहरू खोजी गरी सफा गर्ने कार्यक्रम रहेको छ ।
दोस्रो कार्यक्रम अन्तर्गत हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट भन्ने सन्देशसहित समुदायको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन हुनेछ ।
यसैगरी हरेक वडामा घरदैलो कार्यक्रम अभियानमा पोष्टर र सञ्चारमाध्यमद्वारा डेंगीको जोखिम लक्षण र रोकथामबारे जनचेतना अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
यस वर्ष हुम्ला, डोल्पा, मनाङ र रसुवाबाहेक ७३ जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । डेङ्गी लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न डाक्टरहरुले आग्रह गर्दै आएका छन् ।




प्रतिक्रिया