डेङ्गीलाई सामान्य रूपमा नलिन आग्रह

डेङ्गीलाई सामान्य रूपमा नलिन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी-साउन १० गते तनहुँको व्यास नगरपालिकाका–७ का ४८ वर्षीय पुरुषको डेङ्गी सङ्क्रमणबाट निधन भयो । यसको दुईसातापछि गत शनिबार हल्दीबारी गाउँपालिका–३ झापाकी ४२ वर्षीया शिक्षिकाले डेङ्गीकै कारण ज्यान गुमाउनुप¥यो । स्वास्थ्य सेवा विभाग,

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष नेपालमा डेङ्गी सङ्क्रमणबाट २० जनाको मृत्यु भएको थियो । यस वर्षपनि गत असारयता डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । ७३ जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका जिल्ला पनि यसबाट अछुतो छैनन् । तनहुँ, कास्कीलगायत जिल्ला डेङ्गी सङ्क्रमणबाट बढी प्रभावित छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार गत आइतबारसम्म गण्डकीका दस जिल्लामा गरि १३ सय जनाभन्दा बढीमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।

मुस्ताङ बाहेक प्रदेशका सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको निर्देशनालयका सूचना अधिकारी नवराज शर्माले जानकारी दिए । उक्त अवधिसम्ममा सबैभन्दा बढी तनहुँमा पाँच सय ५२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको थियो । तनहुँपछि कास्की डेङ्गीबाट बढी प्रभावित देखिन्छ । गत बुधबार मात्र कास्कीमा ४० जना डेङ्गी सङ्क्रमित भेटिएका थिए ।

गत आइतबारसम्मको तथ्याङ्कअनुसार गोरखामा एक सय ११, बागलुङमा ८६, पर्वतमा ६६, लमजुङमा ५५, म्याग्दीमा ४१, स्याङ्जामा ३६, नवलपुरमा ११ र मनाङमा मात्र एक जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । गत जुलाई महिनामा छ सय ४३ जना सङ्क्रमित भेटिएकामा अगष्टको दोस्रो साता नबित्दै पाँच सयभन्दा बढीमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गत जनवरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएकामा त्यसयता घट्दै आएर जुन महिनामा ८७ बाट पुनः सङ्क्रमितको संख्या थपिँदै आएको हो । पछिल्लो दुई महिनामा डेङ्गी सङ्क्रमणको दरलाई हेर्दा आगामी दिनमा सङ्क्रमणको जोखिम थप तीव्र हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले बताए ।

उनका अनुसार असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गीले महामारीको रुप लिन सक्ने प्रमुख नेपालीले बताए । ‘डेङ्गीलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्’, उनले भने, ‘डेङ्गी भइसकेपछि अचाक्ली पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।’

उनले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गी तीव्र रुपमा फैलिएको बताए । डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीको भनाइ छ । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको उनले बताए ।