डेंगीले सुर्खेतका तीन नगरपालिका उच्च जोखिममा

डेंगीले सुर्खेतका तीन नगरपालिका उच्च जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाण्डु- सुर्खेतमा गत आर्थिक वर्ष २०८१-८२ को एक वर्षमा डेंगीका कारण चार जनाको मृत्यु भएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुर्खेतमा गत आवमा एक हजार ८३७ जनामा डेंगी सङ्क्रमण पुष्टि भएकामा चार जना मृत्यु भएको हो।

कार्यालयका डेंगी रोग निवारण सम्पर्क व्यक्ति उदय बिसीले हरेक वर्ष सङ्क्रमणको जोखिम बढ्दै गएको बताए। आव २०७७-७८ मा ६३९ जना सङ्क्रमित भएकामा २०७८-७९ मा त्यो सङ्ख्या बढेर एक हजार ३२२ पुगेको र आव २०७९-८० मा एक हजार ४८४ जना सङ्क्रमित भएका उनले जानकारी दिए।

आव २०८०-८१ मा भने सङ्क्रमण केही घरेको थियो। त्यस वर्ष ५७१ जनामा सङ्क्रमण देखिएको थियो।

वीरेन्द्रनगर, पञ्चपुरी र गुर्भाकोट नगरपालिका डेंगीको उच्च जोखिममा छन्। जोखिमलाई मध्यनजर गरी ती क्षेत्रहरूमा सचेतना अभियान तीव्र पारिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। विशेष गरी साउनदेखि कात्तिक महिनासम्मलाई सङ्क्रमणको संवेदनशील समय मानी सचेतना महिनाका रूपमा कार्यक्रमहरू सञ्चालन गरिने सम्पर्क व्यक्ति बिसीले बताए।

प्रत्येक शुक्रबार सरसफाइ शुक्रबार नारासहित कार्यालय, विद्यालय र सामुदायिक ठाउँमा सरसफाइ तथा लामखुट्टेको प्रजनन स्थल खोजी गरी नष्ट गरिने योजना रहेको उनले सुनाए।

स्थानीयले यस अभियानमा समुदायलाई सँगसँगै अगाडि बढाउन आग्रह गरेका छन्। सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले सहरका व्यावसायिक क्षेत्रहरूमा सरसफाइको ख्याल नगरेसम्म सङ्क्रमण नघट्ने भन्दै निजी क्षेत्रले पनि अभियानमा हातेमालो गर्ने बताए।