काठमाण्डु – नेपालमा कोभिड –१९ को बढ्दो प्रभाव र देशका विभिन्न स्थानमा जारी निषेधाज्ञाका कारण दन्त स्वास्थ्य पनि प्रभावित बनेको छ । शरीरको मुख्यद्वारको रुपमा लिइने मुख अधिकांश समय फोहोर भइरहन्छ । मुखमा लाखौंको संख्यामा नर्मल फ्लोरा भनिने किटाणुहरु रहेका हुन्छन् ।
सामान्यता ति किटाणुहरुले हानि नगरेपनि हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमतामा कमी भएका बेला यिनिहरुको संख्या अत्याधिक बढ्ने गर्दछ । जसका कारण विभिन्न रोगहरु निम्तिने गर्दछ ।
त्यसैले हामीले हाम्रो मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको दन्त चिकित्सकहरु बताउँछन् । कोरोना संक्रमण फैलिरहेका बेला अझ बढी ख्याल गर्नुपर्ने नेपाल डेन्टल एसोसिएसनका सदस्य डा. हरि प्रसाद वलीले बताए ।
फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझ्नाले मुखका धेरै समस्या समाधान हुन्छ
हाम्रो सानो प्रयासले मुख र दाँतको समस्या समाधान हुने डा वली बताउँछन् । उनी भन्छन्, ‘हामीले साना–साना कुरामा ध्यान दिइयो भने पनि हाम्रो दाँत र मुखलाई स्वस्थ राख्न सक्छौँ । जस्तैः बिहान बेलुका फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझ्ने, पान पराग सुर्तीजन्य पदार्थको सेवन नगर्ने, चक्लेट चिसो पिय पदार्थ सेवन नगर्ने यदी गरिहाले पनि मुख कुल्ला गर्नाले ठुलो समस्या निम्तने अवस्था कम हुन्छ ।’
यस्तै उनले प्रायः खाना खाइसकेपछि ब्रस गर्दा प्रभावकारी हुने बताए । उनले भने, ‘ कतिपय व्यक्तिको बानी बिहान उठ्नासाथ ब्रस गर्ने देखिन्छ तर खाना खाएपछि ब्रस गर्नु राम्रो हो । यसो गर्दा खानाको टुक्रा दाँतमा रहँदैन र दाँत पनि सफा हुन्छ ।’
एउटै टुथ ब्रस लामो समयसम्म प्रयोग नगरौँ
लामो समयसम्म एउटै ब्रसले दाँत सफा नगर्न डा.वलीको सुझाव छ । एउटै ब्रसले लामो समयसम्म ब्रस गर्दा उल्टो दाँतलाई बिगार्ने भएकाले २ तिन महिनामा ब्रस बदल्न उनको सुझाव छ । यस्तै हामीले मुलायम तुथब्रस प्रयोग गर्नुपर्ने उनको भनाई छ । यस्तै हामीले प्रयोग गर्ने टुथब्रसलाई सुरक्षित र सफा स्थानमा राख्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘ सोझै हाम्रो मुखसँग सम्पर्कमा रहने ब्रस बाथरुममा राखेर ठुलो भुल गरिरहेका छौँ । त्यहाँ ब्याक्टेरिया फैलने अधिक सम्भावना हुन्छ । त्यहाँ राखेको ब्रसपनि दुषित बन्छ । जसकारण हामीलाई अन्य रोगहरु समेत लाग्न सक्छ ।’
सकेसम्म आफुले प्रयोग गर्ने ब्रस छुट्टै राख्न उनले सुझाव दिए । यदी सगोलमै राखेमा ब्रस क्याप लगाएर राख्दा अरुको ब्रसमा रहेका किटाणु आफ्नोमा नसर्ने उनको तर्क छ ।
कोरोनाबाट बच्न आफैं हुनुपर्छ
अहिले कोरोना संक्रमण फैलिरहेको अवस्थामा यसबाट बच्न स्वयम व्यक्ति सचेत हुनुपर्ने उनको भनाई छ । मुख र दाँत स्वस्थ भयो भने अन्य समस्याहरु निम्तिने सम्भावना कम भएकाले यस तर्फ सबैले विशेष ध्यान दिनुपर्ने डा. वली बताउँछन् । मुखबाट नै कोरोना संक्रमण हुनसक्ने भएकाले यसको सरसफाइ र स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको उनले बताए ।
प्रत्येक छ/छ महिनामा डाक्टर कहाँ देखाउन पनि उनको सुझाव छ । कोरोना संक्रमण नफैलियोस् भनेर नेपाल डेन्टल एसोसिएसनले भर्चुअल रुपमा विरामीलाई परामर्श दिने गरेको समेत जानकारी दिए ।
उनले भने, ‘कोरोना बढ्दो छ । यस्तो अवस्थामा सामान्य विरामीहरुलाई हामीले फोनबाटै परामर्श दिन थालेका छौँ । विरामीहरुलाई सहनै नसक्ने अवस्था आयो भनेमात्र अस्पताल र क्लिनिक आउन भनेका छौँ ।’
टोलफ्रि नम्बर १६६००१०२२२३ मा सम्पर्क गर्न आग्रह गरेका छन् । यो नम्बरमा फोन गरेर आफ्ना समस्या राखे दन्त चिकित्सकहरुले तपाईँको समस्या फोनबाटै लिएर समाधान गर्ने प्रयास गर्ने छन् ।
यतिवेला डेन्टल सेवा लिनका लागि अस्पताल तथा क्लिनिकसम्म पुग्न समेत गाह्रो हुने भएकोले आम सर्वसाधारणलाई सेवा दिने उदेश्यले टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको उनले बताए । उनले आम सर्वसाधारणलाई सेवा लिन आग्रह गरे ।




प्रतिक्रिया