देश विखण्डनमा लागेकालाई सरकारले नियन्त्रण गरेको छ : गृहमन्त्री थापा

देश विखण्डनमा लागेकालाई सरकारले नियन्त्रण गरेको छ : गृहमन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – गृहमन्त्री रामबहादुर थापा (बादलले) मुलुकको राष्ट्रिय अखण्डता र शान्ति सुरक्षामा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन्। शनिबार प्रदेश-२ को जनकपुरधाममा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलले देश विखण्डनमा लागेका तथा अराजक गतिविधि एवं अपराधमा लागेकालाई नियन्त्रण गरी सरकारले देशको राष्ट्रिय अखण्डता, शान्ति सुरक्षा कायम गरेर राष्ट्रिय एकताका लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका हुन्।

उनले छिट्टै नै प्रदेश प्रहरीदेखि जिल्ला प्रहरी कार्यालय समेत प्रदेश सरकारको मातहतमा जाने स्पष्ट पारे । प्रदेश प्रहरी सम्बन्धी विधेयक सांसदमा प्रस्तुत भइसकेकाले छिट्टै हरेक प्रदेशले आफ्नो सुरक्षा आफै गर्न सक्ने अधिकार प्राप्त गर्ने उनको भनाई थियो । गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप प्रदेश २ मा प्रदेश स्तरीय सुरक्षा गोष्ठी जनकपुरधाममा जारी रहेको हो । ८ जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको गोष्ठीमा सीमा सुरक्षालाई सरकारको मुख्य प्राथमिकतामा राखि छलफल भइरहेको बताइएको छ ।

गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी कार्यक्रम अभियानको रुपमा आएको र राम्रो सन्देश दिन खोजेको चर्चा गर्दै सबै सरोकारवाला निकायहरुसंग साझेदारी गर्दै यसलाई अझै सशक्त ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए । शान्ति सुरक्षा र अपराध नियन्त्रणमा जनसाझेदारिता अभिबृद्धि गर्ने उद्देश्यका साथ शुरु भएको कार्यक्रमको पृष्ठपोषण अत्यन्त उत्साहजनक रहेकोले साझेदारितालाई सफल पार्न सबैले सहकार्य गर्नुपर्नेमा उनको जोड थियो ।

साथै प्रदेश २ देशकै लाइफलाइनको रुपमा रहेकोले राजमार्ग बन्द जस्ता अवाञ्छित गैरकानुनी क्रियाकलाप हुन नदिनेतर्फ तथा संगठित अपराध र चोरी तस्करी नियन्त्रणमा सबै सुरक्षा निकायको समन्वयकारी भूमिका हुनुपर्नेमा पनि उनले जोड दिए ।

अपराध र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएकाले यसलाई कडाइका साथ पालना गर्नुपर्नेमा पनि उनले जोड दिए । नेपाल प्रहरीमा मानब बेचबिखन ब्यूरो र साइबर व्यूरो स्थापना भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले संगठन सुदृढिकरण गर्ने क्रममा भौतिक साधनस्रोत व्यवस्थापन गर्न उच्च प्राथमिकताका साथ लागिएको बताए ।

गोष्ठीमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले पनि आ–आफ्नो विभागको तर्फबाट प्रस्तुतीकरण गरेका थिए । साथै गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामकृष्ण सुवेदी, सहसचिव ईन्दु घिमिरे लगायतले शान्ति सुरक्षा, विपद व्यवस्थापन र राष्ट्रिय परिचयपत्र कार्यक्रम सम्बन्धी आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए ।