टक खाती, काठमाण्डु- कञ्चनपुरको दैजीदेखि जोगबुढा हुँदै डडेल्धुरा सदरमुकाम र बैतडीको तल्लो स्वराड क्षेत्र जोड्ने सडकखण्ड सुचारु नभएपछि यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
सुदूरपश्चिम प्रदेशमा वर्षाको कारण कैलाली जिल्लाको बुढितोलामा पहिरो गएर विगत ३-४ दिन देखि ७ वटा पहाडी जिल्लाको यातायात सेवामा समस्या सृर्जना भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लामा आवागमनका लागि दैजी-जोगबुढा सडक अत्तरिया-डडेल्धुरा सडक खण्डभन्दा कम पर्छ । तर, वर्षायाम लागेदेखि यो सडकखण्डमा यातायात सेवा ठप्प भएपछि यात्रुहरुले सास्ती खेप्नु परेको हो ।
महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुराको दूरी एक सय ६५ किलोमिटर पर्छ भने महेन्द्रनगरदेखि दैजी-जोगबुढा हुँदै डडेल्धुरा पुग्न ६५ किलोमिटर दूरी कम हुन्छ । पहाडी जिल्लाको छोटो दूरीका हिसाबले दशकौँअघि निर्माणको सुरसार गरिएको दैजी-जोगबुढा सडक खण्डको गती अझै बढ्न सकेको छैन । दैजीदेखि जोगबुढा सडकखण्ड सुचारु हुन नसकेपछि सुदूरपश्चिमका सात वटै जिल्लाका यात्रुहरुले सास्ती खेप्नु परेको स्थानीय केशव अवस्थीले बताए ।
‘सुदूरपश्चिममा वर्षाको कारण कैलालीको बुढितोलामा पहिरो गएर विगत ३-४ दिनदेखि ७ वटा पहाडी जिल्लाको यातायात सेवामा समस्या सृजना भएको छ । खाद्यान्न, स्वास्थ्य सेवाबाट जनताहरु बञ्चित छन् । यो अवस्थामा अहिले दैजी-बुडर सडकखण्ड सञ्चालनमा आएको भए जनताहरु मारमा पर्ने थिएनन्।’, केशव अवस्थीले भने । त्यस्तै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराका बासीन्दाहरुलाई चुनावको बेला मात्रै ठुल-ठुला आश्वासन दिने र चुनाव जितेपछि फर्केर पनि हेर्ने नगरेको गुनासो गरे ।
‘पटक-पटक बजेट र म्याद थप गर्दा पनि सडकको अवस्था अहिलेसम्म जस्ताको त्यस्तै छ । दैजिदेखि जोगबुढा हुँदै बुडर सडकखण्ड निर्माण हुनु भनेको डडेल्धुराकाे भित्रि मधेसका जनताको समस्या मात्रै समाधान होइन यसले ७ वटा पहाडी जिल्लालाई सुविधा हुनेछ । तर, हालसम्म यो सडकखण्ड नबनेपछि जनताले दुःख पाएका छन् । देउवा ज्यु डडेल्धुराका बासिन्दालाई कहिलेसम्म भोट बैंकको रुपमा लिनुहुन्छ । जनताको पिडा पनि बुझ्ने कि ?’, उनले भने ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले २०४८ को पहिलो आमनिर्वाचनमा भनेका थिए- कञ्चनपुरको दैजीदेखि जोगबुढा हुँदै डडेल्धुरा सदरमुकाम र बैतडीको तल्लो स्वराड क्षेत्र जोड्न यो सडक अविलम्ब निर्माण हुन्छ । २०४८ यता देउवाले निरन्तर चुनाव जित्दैँ आएका छन् ।
त्यसपछिका हरेक निर्वाचनमा यो सडक प्रधानमन्त्री देउवा र अन्य दलका नेताहरूको चुनावी मुद्दा बन्यो । तर, देउवाले ०४८ सालदेखि डडेल्धुराबाट निरन्तर चुनाव जितेर पाँच पटक प्रधानमन्त्री बनिसक्दा पनि यो सडक बन्न सकेको छैन । पाँच पटक देउवा प्रधानमन्त्री बनिसक्दा पनि उनले यो सडकखण्डलाई प्राथमिकतामा राखेनन् ।
हाल सरकारले यस सडक खण्डको स्तरोन्नतिका लागि ३० करोड विनियोजन गरेको छ । तर, पार्टीका आसेपासे ठकेदारलाई सडक निर्माणको ठेक्का दिने प्रवृतिले गर्दा हाल पनि सडक निर्माणको काम अलपत्र पर्छ भन्नेमा कुनै आशंका छैन । यसभन्दा अघि पनि सरकारले पटक पटक वजेट छुट्याएको थियो । तर, दशकौँअघि निर्माणको सुरसार गरिएको यस सडक खण्डको अवस्था भने फेरिएको छैन ।




प्रतिक्रिया