काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय समिति बैठकमा आफ्नै केन्द्रीय सदस्यलाई चिनेनन् । आइतबार जारी बैठकमा सभापति देउवाले बोल्नका लागि हरिशरण नेपालीको नाम लिए ।
देउवाले बोल्नका लागि आफूलाई पालो दिएसँगै केन्द्रीय सदस्य हरिशरण नेपाली बैठकमा आफ्नो धारणा राख्न थाले । उनले साउन २० देखि ३० गतेसम्म पार्टी संगठन सुदृढीकरणका लागि जिल्ला जाँदा स्थलगत अवस्था बैठकमा राखेका थिए ।
‘जिल्लामा धेरै असन्तुष्टिहरु छन् । तपाईँहरु पहिले सच्चिएर आउनुस् भन्नुभएको छ । जिल्ला एक अर्कासँग कोर्डिनेसन छैन । जिल्लामा बैठक बसाउन पनि धौधौको अवस्था छ,’ बैठकमा उनले भने ।
उनले बोलिरहँदा सभापति देउवाले धन्यवाद दिदैँ बोल्ने समय सकियो भन्दै रोकिन आग्रह गरे । तर, देउवाले भनेको अटेर गर्दै हरिशरण नेपाली बोलिरहे । आफूले भनेको नमानेपछि देउवा आक्रोशित बन्दै आफ्ना छेउमा रहेका महामन्त्री विश्वप्रकाश शर्मालाई सोधे ‘को मान्छे हो यो ?’
त्यसपछि महामन्त्री शर्माले केन्द्रीय सदस्य हरिशरण नेपाली भएको जवाफ दिए । फेरि देउवाले सोधे, कहाँको मान्छे हो यो ? शर्माले भक्तपुरको नेता भएको बताएपछि देउवाले भने, ‘भयो भयो, सिद्धियो । माफ गर्नुहोला ।’
त्यसपछि देउवाले पुनः बैठक अगाडि बढाएका थिए । सभापति देउवाले केन्द्रीय सदस्यलाई समेत नचिनेपछि बैठकमा सहभागि नेताहरुले भने आश्चर्य व्यक्त गरेका छन् । देउवा आजको बैठकमा मात्र होइन, यसभन्दा अगाडिका बैठकमा पनि आक्रोशित बनेका थिए । छिट्टै रिसाउने स्वभावका देउवा आफूले भनेको नमानेपछि आक्रोशित हुने गर्दछन् ।




प्रतिक्रिया