काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशन विरुद्धको रिट फिर्ता गरेर रुख चिह्नमै चुनाव लड्न देउवा पक्षसँग शर्त राखेको विषयले विवाद उत्पन्न भएको छ ।
कतिपय देउवापक्षीय नेताहरू सभापति थापाबाट टिकट लिएर चुनावी मैदानमा होमिन तयार रहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवाको सचिवालयले रिट फिर्ता नहुने स्पष्ट पारेको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाले सोमबार प्रेस नोट जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिने भन्ने गलत र भ्रामक समाचार केही सञ्चारमाध्यमहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । रिट निवेदन फिर्ता नहुने र अदालतबाट निष्पक्ष न्याय सम्पादन हुनेमा नेपाली कांग्रेस अपेक्षित छ ।’
निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पनि सामाजिक सञ्जालमार्फत अदालतमा विचाराधीन मुद्दा फिर्ता नहुने स्पष्ट पारेका छन् । निर्वाचन आयोगको निर्णयविरुद्ध न्यायका लागि अदालत गएको उल्लेख गर्दै उनले भनेका छन्, ‘२०८२ माघ २ गते कांग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अवैधानिक निर्णयका विरुद्धमा २०८२ माघ ४ गते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रूपमा असत्य भएको म स्पष्ट पार्न चाहन्छु ।’
उनले संवेदनशील विषयमा प्रत्यक्ष सम्पर्क र सत्यतथ्य बुझाइ नगरी अड्कलका भरमा समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् । पार्टीको आधिकारिकताका विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई दिने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले माघ ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेको छ, मंगलबार पेशी तोकिएको छ ।
सभापति थापा पक्षले रिट फिर्ता हुनुपर्ने शर्त राख्ने तथा देउवा र खड्का पक्षले रिट फिर्ता नलिने अवस्थामा कांग्रेसभित्रको विवाद कायमै रहेको छ ।




प्रतिक्रिया