काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पक्राउ पुर्जी जारी गरेको छ ।
सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान गर्न देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
उपचारका लागि भन्दै गत २१ फागुनको निर्वाचनभन्दा १ हप्ताअघि सिंगापुर उडेका देउवा हाल हङकङमा छन् । यदि नेपालमा रहेको भए उनीहरू पक्राउ परिसकेका हुन्थे । गत २४ भदौमा जेनजी नवयुवाको आन्दोलनका क्रममा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । गर्धनमा चोट लागेका देउवा फलोअप उपचार गर्न भनेर सिंगापुर गएका थिए ।
उपचारपछि स्वदेश फर्किने तयारीमा रहेका उनीहरू २१ फागुनको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि उतै रोकिए । नेपाल फर्किए पक्राउ पर्न सक्ने चर्चाबिच देउवा ७ चैतमा उपचार र पारिवारिक कामका लागि हङकङ पुगेको सूचना उनकै सचिवालयले बाहिर ल्याएको थियो ।
किन जारी गरियो पक्राउ पुर्जी ?
विभागले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा आधिकारिक रूपमा केही बताएको छैन । तर अनौपचारिक रूपमा विभागका अधिकारीहरू पक्राउ पुर्जी जारी गरिएको बताउँछन् । २३ भदौका दिन जेनजी आन्दोलनकारी समूहले देउवा निवास बुढानीलकण्ठ कब्जामा लिए । त्यस क्रममा देउवा निवासमा भेटिएको नेपाली र विदेशी मुद्रामध्ये केही आन्दोलनकारीले लगे भने केही आगलागीमा जलेको भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल बनाएका थिए । नगदबारे अनुसन्धान गर्न खरानी जम्मा पारेर परीक्षणका लागि भारत पठाइएको छ ।
जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित आयोगले पनि देउवा निवासमा भेटिएको रकमका विषयमा बोलेको छ । यद्यपि देउवाले भने भिडियो एआई ‘जेनेरेटेड’ भएको दाबी गर्दै आएका छन् । विभागले स्रोत नखुलेको करोडौं रकम भेटिएको विषयमा छानबिन प्रक्रिया अघि बढाइएको जनाएको छ ।
देउवा दम्पतीलाई कसरी गर्न मिल्छ पक्राउ ?
देउवा दम्पती हाल हङकङमै रहेको उनीनिकट स्रोतहरूको भनाइ छ । हङकङ र नेपालबिच सुपुर्दगी सन्धि नभएका कारण देउवा दम्पतीलाई त्यहाँको प्रहरीले पक्राउ गरेर नेपालको जम्मा लगाउन मिल्दैन । त्यसका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) को सहयोग लिनुपर्छ । सम्बन्धित मुलुकले रेडकर्नर नोटिस जारी गरेको अवस्थामा इन्टरपोलले डिफ्युजन जारी गरी आरोपीलाई पक्राउ गरेर पठाउँछ ।
स्रोतका अनुसार देउवा दम्पतीविरुद्ध केही दिनभित्रै ‘रेड कर्नर नोटिस’ जारी गर्ने तयारी छ । प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) एक अधिकारीले देउवा दम्पतीविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी रहेको बताए ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सम्पत्ति शुद्धीकरण विभागको पक्राउ पुर्जी देशभित्र मात्र काम लाग्ने भएकाले देउवा दम्पतीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी हुन सक्ने बताउँछन् । ‘हङकङसँग हाम्रो सुपुर्दगी सन्धि छैन,’ भट्टराईले काठमाण्डुपाटीसँग भने, ‘इन्टरपोलले डिफ्युजन नोटिसका आधारमा पक्राउ गरेर पठाउन सक्छ ।’
अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पनि सरकारले ‘रेड कर्नर’ नोटिस जारी गरेर देउवा दम्पतीलाई पक्राउ गरी नेपाल ल्याउन सक्ने बताउँछन् ।




प्रतिक्रिया