काठमाण्डु – प्रधानमन्त्री शेरवहादुर देउवा स्वदेश फिर्ता भएका छन् । उनी यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।
देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी थिए ।
देउवाले नेपालको बारेमा अमेरिकी राष्ट्रपनि जो बाइडेनदेखि बेलायती र भारतीय प्रधानमन्त्रीको राम्रो सद्भाव रहेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै देउवाले आफूले विश्वका नेताहरुसँग राम्रो कुरा गरेको बताए ।
देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताउँदै नेपालप्रति भारतको सद्भाव बढेको बताए । मोदीले आफूलाई पनि निम्ता दिएको देउवाले बताए । उनले आफूलाई अमेरिकी राष्ट्रपतिले टाढैबाट चिनेर बोलाएको समेत बताए ।
‘जो बाइडेनसँग पनि रिसेप्सनमा राम्रोसँग कुरा भयो । टोपी लगाएर गएको हुनाले उनले टाढैबाट मलाई चिनिहाले । उनी नेपाल आएका रहेछन् । नेपालप्रति राम्रो सद्भाव छ । बोरिस जोन्सनको पनि नेपालप्रति राम्रो सद्भाव पाएँ,’ उनले भने ।




प्रतिक्रिया