हङकङमा शौचालयमा लडे शेरबहादुर देउवा, एउटा हात भाँचियो

हङकङमा शौचालयमा लडे शेरबहादुर देउवा, एउटा हात भाँचियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हङकङमा अघोषित निर्वासित जीवन बिताइरहेका काँग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लडेर घाइते भएका छन् ।

काँग्रेस उच्च श्रोतका अनुसार देउवा शौचालयमा लडेर घाइते भएका हुन् । उनको एउटा हात भाँचिएको छ । घटना गत साताको हो । देउवा हाल उपचारपछि आराम गरिरहेको ती नेताले काठमाण्डु पाटीलाई बताए ।

आफू लडेर घाइते भएको बारे देउवाले काँग्रेस पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रमेश लेखक लगायतलाई जानकारी गराएका छन् ।

नेता खड्कासँग भेटेका सो समूहका एक केन्द्रीय सदस्यले पनि देउवा घाइते भएको पुष्टि गरे । ‘शेरबहादुर दाई’ ट्वाइलेटमा लडेर घाइते भएको भन्ने सुनेको छु’, ती नेताले भने, ‘हात भाँचिएको कुरा आएको छ ।’


देउवा गत २१ फागुनको निर्वाचन हुनुभन्दा एक साताअघि १३ फागुनको राति नियमित उपचारका लागि भन्दै स्वकीय सचिवसमेत रहेका भतिजा भानु देउवासहित सिंगापुर उडेका थिए ।

जेनजी आन्दोलनकारीले गत २४ भदौमा देउवालाई बुढानीलकण्ठस्थित निवासमा नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका थिए । धारिलो हतियार प्रहारबाट उनको गर्धनमा चोटसमेत लागेको थियो । १० कात्तिकमा उपचारका लागि पत्नी आरजुसहित संगापुर गएका देउवा २८ कात्तिकमा उपचार गराएर स्वदेश फर्किएका थिए ।


दोश्रोपटक देउवा सिंगापुर उड्का पत्नीसमेत रहेकी पूर्वमन्त्री आरजु राणा देउवा भारतमा थिइन् । उनी भारतबाट सिंगापुर गइन् । आरजु सिंगापुर पुगेको केही दिनपछि चैत पहिलो साता देउवा दम्पती हङकङ गएको हो । उनको सचिवालयले त्यतिबेला थप स्वास्थ्योपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा दम्पती हङकङ गएको जनाएको थियो ।


हङकङबाट नेपाल आउने तयारी गरिरहेका बेला पक्राउ पुर्जी जारी भएपछि देउवा दम्पती उतै रोकिएको हो । जिल्ला अदालत काठमाण्डुले चैत तेश्रो साता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पुर्जी जारी गरेको थियो ।

रेड कर्नर नोटिस जारी गर्ने तयारीस्वरुप पक्राउ पुर्जी जारी भए पनि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गर्न अस्वीकार गरेको छ । प्रहरी प्रधान कार्यालयले दुईपटकसम्म पत्राचार गरेकामा इन्टरपोलले राजनीतिक व्यक्तिविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्न नमिल्ने जवाफ दिएको छ ।